•  ४ श्रावण २०८३, सोमबार

वैदेशिक रोजगार व्यवसायी संघ महासंघमा परिणत हुँदै

- बैशाख ३, २०८२ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अब महासंघ हुने भएको छ । कार्यसमिति २७ सदस्यीय हुने भएको छ ।संघको २९ गते सम्पन्न ३० तथा ३१औं साधारणसभाले विधान संशोधन गरी संस्थाको नाम परिवर्तन र कार्यसमितिको संख्या बढाएको हो । संघको हालको कार्यसमिति ७ जना पदाधिकारी र १४ जना सदस्य गरी २१ सदस्यीय छ ।

संशोधित विधानअनुसार यसअघिको कार्यसमिति संरचना यथावत ( राख्दै १ जना महिला उपाध्यक्ष, १ उपमहासचिव र ४ जना सदस्य थप गरिएको हो । संशोधित विधानमा अध्यक्षले कार्यसमितिमा मनोनयन गर्ने ४ जना सदस्य यथावत् राखिएको छ ।संघले आफ्नो विधानलाई समावेशी, महिलामैत्री र समय सापेक्ष बनाई कार्यसमितिमा महिलाको प्रतिनिधित्व बढाउन महिला उपाध्यक्षको व्यवस्था गरेको बताएको छ भने महासचिवको अनुपस्थितमा महासचिवले गर्नुपर्ने काम गर्न उपमहासचिव पद कायम गरिएको बताएको छ ।

महिला उपाध्यक्षले महिला व्यवसायीका समस्याको समाधानका लागि भूमिका खेल्दै संयुक्त राष्ट्रसंघीय संस्था यूएन ओमान, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), राष्ट्रिय महिला आयोगलगायतसँग समन्वय र महिला व्यवसायीको हक हित प्रवद्र्धन गर्ने जिम्मेवारी विधानमा तोकिएको छ । भलाइ कोष संचालन गर्ने व्यवस्था पनि विधानमा छ ।

संघले कार्यसमितिमा उम्मेदवारी दिन निर्वाचन समितिमा बुझाउने रकम पनि विधानमा नै तोकेको छ । यसअघि कार्यसमितिको निर्णयबाट तोकिने शुल्क साधारणसभाअनुसार फरक–फरक थियो ।पारित विधानअनुसार अध्यक्षका उम्मेदवारले २५ हजार, प्रथम उपाध्यक्षले २२ हजार, द्वितीय उपाध्यक्षले २० हजार, तृतीय उपाध्यक्षले १८ हजार, महिला उपाध्यक्षले १७ हजार, महासचिवले १६ हजार, उपमहासचिवले १६ हजार, सचिवले १४ हजार, कोषाध्यक्षले १२ हजार र सदस्यका उम्मेदवारहरूले १० हजार बुझाउनुपर्ने व्यवस्था छ ।
संघले सल्लाहकारको संख्या पनि बढाएको छ । यसअघि ५ जना रहेको सल्लाहकार समिति अब ७ सदस्यीय हुने छ । संघले संघको नाम नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघ बनाए पनि सदस्य संरचनामा परिवर्तन गरेको छैन । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त व्यवसायी नै महासंघका सदस्य हुने छन् । संघको गरिमा र उचाइ बढाउनकै लागि महासंघ बनाएको बताइएको छ ।

संघले व्यवसायीको मासिक लेबी पनि बढाएको छ । विभिन्न कार्यक्रममा मासिक ८सय र इजाजतपत्रवाला व्यवसायीको मृत्यु वा गम्भीर रोग लागेमा सहयोग गर्न मासिक ५सय गरी मासिक लेबी अब १ हजार ३ सय कायम गरिएको छ ।

नयाँ सदस्यलाई सदस्यता प्राप्त गर्न २५ हजार र ६ महिनाको एकमुष्ठ सदस्यता शुल्कबापत ६ हजार ६ सय गरी ३१ हजार ६सय बुझाउनुपर्ने छ । यसअघि प्रवेश शुल्क ५ हजार र मासिक शुल्क ५सय रुपैयाँ थियो ।संघको साधारणसभाले पारित गरेको संघको संशोधित विधान जिल्ला प्रशासन कार्यालयको स्वीकृतिपछि कार्यसमितिले कार्यान्वयनमा लैजाने छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments