कासिन न्यूज,
तनहुँ ।
आँवुखैरेनी गाउँपालिका– १ गिरानचौरकी जुरेली गुरुङ ८६ वर्षमा पुगिन । अन्यका सहारामा बस्नुपर्ने उमेरमा उनको दैनिकी भने गाउँमै उत्साहजनक छ । बिहान ५ बज्नु अगावै उठ्ने, बाख्रालाई घाँस र कुखुरालाई दानापानी गरी बिरामी छोरीको स्याहार गर्नु उनको दैनिकी बनेको छ । जुरेलीको कर्मशील दैनिकी बुढ्यौली उमेरले छेकेको छैन, झनै सक्रिय बन्दै गएको छ ।
‘‘काम नगरेको दिन ज्यान दुख्ने पो हुँदोरहेछ’’, उनले भने , ‘‘त्यसैले बिहानै घर लिपपोत गर्नेदेखि छोरीको स्याहार र बाख्रालाई घाँस काट्नेदेखिको खेतीपाती थन्काउने काममा आँफैँ खटिने गर्छु ।त्यति गरेपछि मज्जाले निद्रपर्छ, भुसुक्कै भइन्छ ।’’गाउँका मानिसले बुढ्यौलीमा आँखा जचाउन सुझाएपछि अस्पताल जाने तयारीमा रहेकी जुरेली पुस १५ गते ल्होसारको अवसरमा गाउँमा भएको ज्येष्ठ नागरिक महिला बिचको सियोमा धागो छिराउने प्रतियोगितामा प्रथम भएपछि आँखा जचाउन जाने योजना तत्काललाई रोकिएको जुरेलीको भनाइ छ ।
‘‘सियोमा धागो छिराएर सात जनालाई मैले जितेपछि गाउँका मान्छेले ठिक रहेछ, आँखा जचाउन जानपर्दैन भने’’ बिहानै घर लिप्दै गरेकी जुरेलीले सुनाइन , ‘‘मेरा दमली कोही थलिएका छन् । कोही लौरोबिना हिँडडुल गर्न सक्दैनन् । म भने अहिलेसम्म काम गरेरै खाएको छु ।’’
आफ्ना तीन छोरी र एक छोरामध्ये जेठी छोरी ६७ वर्षीया गाउँ नजिकै विवाह भएको, माहिली छोरी ६२ वर्षीया विमायाको बन्दिपुरको झारगाउँमा, कान्छी छोरी ५० वर्षीया छोमायाको तीन वर्षपहिले प्रेसरले देव्रो हड नचल्ने भएपछि जुरेलीले साथमा राखेर रेखदेख गर्दै आएकी छिन् ।
सवारी चालक रहेको आफ्नो एकमात्र छोरा ४५ वर्षीय सन्तबहादुर बुहारी र नाति नातिनीसहित पोखरामा बसोबास गर्दै आएको जुरेलीले बताइन । आफूलाई उच्च रक्तचापको समस्या बाहेक अन्य कुनैपनि समस्या नभएको जुरेलीले बताइन ।‘‘बुढेसकालमा रगत ठिक गर्ने दवाइ खानैपर्छ भनेर डाक्टरले भनेपछि एक वर्षदेखि सुत्ने बेलामा एक गोली खाने गरेकोछु’’, मनमायाले भनिन , ‘‘अरु दवाइ केही पनि खान परेको छैन ।’’
आँबुखैरेनी गाउँपालिका– १ मा पर्ने पर्यटकीय गाउँ गिरानचौरमा गुरुङहरुको करिब ४५ घरमध्ये सबैभन्दा पाको उमेरमै गनिने गर्छिन् । माउ बाख्रा, बोका र पाठापाठीसमेत गरी पाँच वटा बाख्रा र १७ वटा कुखुरा पाल्दै आएकी जुरेलीले दसैंको छेकोमा दुई वटा बोका बेचेर ४८ हजारसमेत हात पारेको बताइन । ज्येष्ठ नागरिक भत्ता रकमलेसमेत आफूलाई राहत दिएको जुरेलीले बताइन ।
धान, आलु, प्याज र लसुन लगाएर करिब ५/६ महिनासम्मलाई पुग्ने अन्नपातसमेत आफूले नै गर्दै आएको जुरेलीको भनाइ छ । ‘‘दुई वर्ष अघिसम्म त भैँसी पनि पालेर दूध र घिउसमेत बेच्दै आएकी थिएँ’’, उत्साहका साथ जुरेलीले भन्नुभयो, ‘‘हातखुट्टा चलेसम्म अझै एउटा लौनो भैँसी पनि पाल्नुपर्छ की भन्ने ठानेकी छु । दुई चार पैसा जोडेकी छ् । हेरौँ के हुन्छ ।’’
श्रीमान् भीमबहादुरको २५ वर्षअघि मृत्यु भएपछि हाल रोजगारीको सिलसिलामा दुवईमा रहनुभएकी छोरी बिनाले औषधि उपचारको जोहो गरे पनि दैनिक रेखदेख भने आमा जुरेलीले गर्दै आएकी कान्छी छोरी ५० वर्षीया छोमायाले बताइन ।
‘‘तीन वर्षअघि चितवनमा मुटुको शल्यक्रिया गरेपछि देव्रे हड नै नचल्ने भयो’’, छोमायाले भनिन , ‘‘मेरो हातखुट्टा चल्दासम्म म नै रेखदेख गर्छु भनेर आमाले भनेपछि माइतीमै छु ।’’नियमित औषधिको ख्यालसमेत आमाले गर्नुहुने छोमायाले बताइन ।गाउँकै ज्येष्ठ नागरिक जुरेलीको जोश र जाँगरलाई गाउँमै उदाहरणको रुपमा लिने गरिएको स्थानीय ७२ बर्षीया मनमाया गुरुङले सुनाइन । ‘‘जुरेली दिदीको जोश जाँगर भर्खरका मान्छेको भन्दा पनि बढी छ’’, मनमायाले भनिन , ‘‘उहाँसँगै खटिएर हामी त के भर्खरका पनिका पनि काम गर्न सक्दैनन् ।’’
गाउँमा बुढ्यौली उमेरमा पनि सक्रिय जुरेलीको जोश जाँगरको चर्चा गिरानचौर पर्यटकीय गाउँ अवलोकनमा आउने सबैजसो पर्यटकले गर्ने गरेको गिरानचौर पर्यटकीय गाउँकी अध्यक्ष ओममाया गुरुङले जानकारी दिइन । ‘‘गाउँ घुम्न आउनेलाई सबैभन्दा पाको उमेरको मान्छे उनी हुन् भनेर चिनाउने गरेका छौंँ’’, ओममायाले भनिन , ‘‘जुरेली आमा गाउँकै शोभा हुनुहुन्छ । उनीजस्तो दैनिक खटिएर काम गर्ने अरु बुढाबुढी गाउँमै छैनन् ।’’
आँबुखैरेनी गाउँपालिकाका– १ नम्बर वडाध्यक्ष प्रेमबहादुर गुरुङले ज्येष्ठ नागरिक जुरेलीको सक्रियता देखेर आफूहरु छक्क पर्ने गरेको बताइन । “उनको खटाइ नै बिहानदेखि बेलुकासम्म हुनेगर्छ’’, वडाध्यक्ष गुरुङले भने , ‘‘बुढ्यौली जीवनमा पनि उनको सक्रिय जीवनबाट हामी सबैले सकारात्मक पाठ सिक्नुपर्छ । जुरेली आमा गाउँको मात्रै नभइ आँबुखैरेनी गाउँपालिकाकै प्रेरणाकी स्रोत हुन् ब ।’’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments