आन्तरिक रूपमा कार्यकर्तामा हर्ष / बिस्मात : वफादारी र निरन्तरताको भावनाले साथ दिंदै
- बैशाख ३१, २०८२ मा प्रकाशित

नेपालको भिमकाय दल नेपाली कांग्रेसको १५औं महाधिवेशन केन्द्रित वडा स्तरदेखि केन्द्रसम्मको नेतृत्व चयन गर्ने लोकतान्त्रिक अभ्यासको पहिलो चरणमा प्रवेश गरेको छ । क्रियाशील सदस्यताको नवीकरण अहिले तीव्र रूपमा भइरहेको छ, जुन प्रक्रिया पार्टीभित्रको लोकतन्त्र अभ्यासको प्रमाण हो।
हाल देशभर महानगर, नगरपालिका तथा गाउँपालिकाका वडा कार्यालयहरूमा बिहान बेलुका क्रियाशील सदस्यता नवीकरणको चटारो देखिन थालेको छ । फर्म भर्न र बुझाउन कार्यकर्ताको घुँइचो लागिरहेको छ।
कांग्रेसमा करिब ८ लाख ५० हजार क्रियाशील सदस्य रहे पनि विगतका महाधिवेशन जस्तो जोश र उत्साह अहिले देखिएको छैन। आन्तरिक रूपमा कार्यकर्तामा हर्ष नदेखिए पनि कांग्रेसप्रतिको वफादारी र निरन्तरताको भावना कारण सदस्य नवीकरणको संख्या बढ्ने अपेक्षा गर्न सकिन्छ।
राजनीतिक तहमा अग्रस्थानमा रहेको कांग्रेस भित्र केही नयाँ धक्का र रणनीतिक उतारचढाव देखिएको छ। नेपाली राजनीतिमा देखिने ’बाहिर एक, भित्र अर्काे’ प्रवृत्तिका बीच सभापति शेरबहादुर देउवा अहिले संस्थापन पक्षका नेताहरूसँग नियमित संवादमा छन्। एकातिर पुराना कार्यकर्ताको नवीकरण तीव्र भइरहेको छ भने अर्कोतिर असन्तुष्टिको स्वरहरु तिब्र रुपमा सुनिन थालेको छ ।
केन्द्रीय नेतृत्वले लादेका कतिपय अपारदर्शी नियम, र स्थानीय तहमा देखिएको गुटगत प्रतिस्पर्धाले कार्यकर्तामा वाक्कदायक अवस्था सिर्जना गरेको छ।
१४ औं महाधिवेशनमा देउवा आफैँले पहिलो चरणमा स्पष्ट अग्रता लिन नसकेको स्थिति उनको पार्टीभित्रको पकडले दर्शाएको थियो ।
त्यो समयमा सभापतिको उम्मेदवार बनेका प्रकाशमान सिंहले ७.९२% र महेन्द्रनारायण निधीले ५.३१% मत प्राप्त गरेका थिए, जसको संयुक्त प्रभाव नै निर्णायक बनेको थियो। तर अहिलेको १५औं महाधिवेशन त्यो समयभन्दा फरक ढाँचामा अगाडि बढिरहेको छ।
संस्थापन पक्षमा नेतृत्वको आकांक्षा राख्नेहरूको संख्या धेरै छ। ती आकांक्षीहरूको व्यवस्थापन नै सभापति देउवाका लागि चुनौतीपूर्ण विषय बनेको छ। राजनीतिक तापक्रम बढेसँगै उनले संस्थापन पक्षका नेताहरूसँग संवादलाई तीव्र बनाउँदै लचिलो वातावरण सिर्जना गर्न खोजेका छन्।
भित्री असन्तुष्टि साम्य पार्दै आफू वरिपरि शक्ति केन्द्रित गराउने उनको रणनीति देखिन्छ। देउवाको कट्टर आलोचना गर्ने धेरै नेताहरू अन्ततः उनकै उपस्थितिमा लचिलो बन्ने व्यवहारले पनि उनलाई फाइदा पुगिरहेको छ।
सभापति देउवाले सक्रिय राजनीतिबाट विश्राम लिन लागेको चर्चा चलिरहेको बेला पार्टी अझै उनको वरिपरि घुमिरहनु नेपाली राजनीतिक संस्कारको सन्दर्भमा आलोचनाको विषय नहुन पनि सक्छ किनकी कांग्रेस भनेको परम्परागत हिसाबले चलेको राजनीतिक दल हो ।
अबको राजनीतिक यात्रा गुटभन्दा माथि उठेर विचार र एजेन्डालाई प्राथमिकता दिने दिशामा हुनुपर्छ। आम कार्यकर्ता र स्वतन्त्र जनताको भावना बुझ्दै युगले चाहेको नेतृत्व निर्माण गर्न सक्नुपर्ने आवश्यक छ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रियामात्र होइन, पार्टीको नीतिगत दिशा तय गर्ने र कार्यकर्ताको मनोबल पुनःनिर्माण गर्ने ऐतिहासिक अवसर हो।नेतृत्व आकांक्षीहरू गुटगत स्वार्थभन्दा माथि उठेर विचार र कार्यक्रम केन्द्रित भए मात्र कांग्रेसप्रतिको जनआस्था कायम रहन सक्छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments