सङ्गठन निर्माणको लागि सवारी चालकदेखि रक्सीको व्यापार

- जेष्ठ ३, २०८२ मा प्रकाशित


कासिन न्यूज,
ओखलढुङ्गा ।

नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय महेश कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति भएका कोर्मेचाको जन्म विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा भएको हो । २०३१ सालको टिमुरबोटे काण्डमा बचेका उनले नेपाली राजनीतिको लामो समय योगदान गरेका थिए ।

विसं २००७ मा भएको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको उनको राजनीतिक यात्रा सुरु भएको थियोे । त्यसपछि उनले ओखलढुङ्गा जिल्लाको पार्टी सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापति पद समेत सम्हालेका थिए ।

हजुरबुबा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुआत भएको बताउने कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसको चिट्ठी ओसार्ने जिम्मेवारी दिइएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतङ्कित भएसँगै प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान गएका थिए ।

उनी सहित १५ जनामध्ये १४ जना भर्ती भएका थिए । ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गरेका थिए । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय भए ।

विसं २०२५ मा कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका कोर्मोचाको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गरेका थिए ।त्यसबेला सवारी चालकदेखि रक्सीको व्यापारसमेत गरेर सङ्गठन निर्माण गरेको उनको इतिहास छ । विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि थिए ।

क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो । बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस कोर्मोचा बच्न सफल भएका थिए ।

त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो । ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक थिए क्याप्टेन यज्ञबहादुर थापा । उनी नेपाली सेनाका पूर्वक्याप्टेन थिए ।

कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पु¥याइ हत्या गरिएको थियो ।

विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि कोर्मोचा पनि पक्राउ परेका थिए । राज्यविरुद्धको मुद्दामा उनले पटकपटक गरी आठ वर्षको जेल जीवन जीवन भोगेका थिए ।

विसं २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति भएका थिए ।
बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए ।

नयाँ शक्ति त्यागेर विजयकुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजका बनेका कोर्मोचा पुनःकांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहेका थिए ।उनको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर