थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
- असार २३, २०८२ मा प्रकाशित
कञ्चनपुर। वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ ।
सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो । तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ । “वर्सात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै सङ्कलन गर्थे,” स्थानीय हवलदार चौधरीले भन्नुभयो, “अहिले त्यो दृश्य विरलै देख्न पाइन्छ ।” वन क्षेत्रमा प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख बन्दै गएको उहाँको भनाइ छ । सामुदायिक वनमा अनुमतिबाट मात्रै र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत फुटकी च्याउ भेटिन छाडेको बताउने गरेका छन् ।
स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकीलाई थारु समुदायले अनेकौँ परिकारमा प्रयोग गर्छन् । जसमा झोलयुक्त तरकारी, अचार, सेकुवा, भुटुवा, सुकुटी, पकुवा हुने गर्दछ । गहुँ वा चामलको पिठोमा मिसाएर फुटकी पकाइने परिकारलाई थारु समुदायले कपुवा भन्ने गर्दछन् ।
थारु समुदायमा कुन च्याउ खान योग्य छ, भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ । यही ज्ञानले उनीहरूलाई वनस्पति स्रोतको सुरक्षित र सन्तुलित प्रयोगमा दक्ष बनाएको हवलदार बताउनुहुन्छ । बजारमा फुटकीको अभाव हुँदा अहिले यसको मूल्य प्रतिकिलो रु चार सयदेखि रु एक हजार तीन सयसम्म पुगेको बन्धुराम चौधरीले बताउनुभयो ।
“प्रकृति पूजक थारु समुदायले जङ्गलमा पाइने च्याउ, जडीबुटीलगायतका वस्तुहरूलाई परम्परागत रूपमा भान्सामा स्थान दिएका छन्”, उहाँले भन्नुभयो, “तर अहिले वन क्षेत्रमा यी स्रोतहरू घट्दो छ ।” थारु समुदायका अगुवा परदेशी चौधरीका अनुसार फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो । बर्सातको बेला अनुकूल वातावरणमा उम्रिने फुटकीमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ । पचाउन सजिलो भएकाले स्वास्थ्यका लागि पनि उपयोगी मानिन्छ । थारु समुदायमा ‘जलेवा’ र ‘भोटैल’ गरी दुई प्रकारका फुटकी चिनिन्छन् । जलेवा सेतो रङ्गको हुन्छ भने भोटैल कालो वा खैरो हुन्छ । बुढापाकाका अनुसार मयुरले पनि फुटकीको गुदी भाग विशेष रूपमा रुचाउने गर्छ ।
“फुटकी च्याउ केवल एक मौसमी परिकार मात्र नभई थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंशका रुपमा रहेको छ”, थारु अगुवा रेवन चौधरीले भन्नुभयो, “जुन अहिले लोपोन्मुख अवस्थामा छ, यसको संरक्षण आवश्यक छ ।”
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments