•  २४ जेष्ठ २०८३, आईतवार

२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रन सक्ने

- श्रावण १८, २०८२ मा प्रकाशित


काठमाडौँ । पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरूले प्रक्षेपण गरेका छन् ।

उनीहरुकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको सङ्ख्यामा भारी रूपमा वृद्धि हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार अहिले पर्यटक आवागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आवागमन भएको छ । उनले सन् २०२४ को जुलाइको आँकडा हेर्दा बढेको बताए । यसरी पर्यटक वृद्धि २०२५ मा करिब १२ लाख पर्यटक आवागानको हाराहारीमा पुगिनेछ । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् ।दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बङ्गलादेशबाट ४ हजार ४ सय १३ जना र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले भने,‘भारत चीन अमेरिका श्रीलङ्का बङ्गलादेशका लगायतबाट नेपालमा बढी पर्यटक आउने गरेका छन् । हवाई यात्रा हुँदै भारतबाट कम पर्यटक आएको देखिए पनि सडक मार्ग हुँदै भारतीय पर्यटक धेरै आउने गरेका छन् । २०१९ मा १२ लाखसम्म पर्यटक आएको आँकडा थियो । २०२५ अहिले १२ लाखको नजिक नजिकमा छौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको हवाई विस्तार हुनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा जुन हवाई मूल्यको प्रतिस्पर्धा हुन्छ । यसमा खरो उत्रन हाम्रो आफ्नै राष्ट्रिय ध्वजावाहक चाहिन्छ । अहिले नेपाल एयरलाइन्सको गन्तव्य ८–१० ओटा मात्रै छ, यो दोब्बर भएको खण्डमा सन् २०३० सम्ममा १५–१६ लाखको हाराहारीमा पर्यटक भित्राउन सकिनेछ ।’

भारत, चीन, श्रीलङ्कादेखि अमेरिकनहरू नेपाल घुम्न आउने क्रम ह्वात्तै बढेको छ । यसले पर्यटन क्षेत्रलाई राम्रो फाइदा पुर्‍याएको छ भने अर्बौँ लगानीमा खुलेका होटलहरु समेत चलायमान हुन पाएका छन् । पर्यटक आउने क्रम बढ्दा मुलुकलाई भित्रने विदेशी मुद्रामा समेत वृद्धि हुने गरेको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments