•  २६ मंसिर २०८२, बिहीबार

युट्युबको नयाँ एआई प्रणाली, नाबालिगले उमेर ढाँटेको पत्ता लाग्ने

- श्रावण २६, २०८२ मा प्रकाशित


काठमाडौँ । युट्युब अकाउन्ट खोल्दा आफ्नो उमेरबारे गलत जानकारी दिने बालबालिका र किशोरमाथि कडाइ गर्ने तयारीमा छ । कम्पनीले १३ अगस्टदेखि संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिमा आधारित नयाँ उमेर प्रमाणिकरण प्रणाली सुरु गर्न लागेको हो।

यस प्रणालीले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई पत्ता लगाउनेछ, चाहे उनीहरूले साइन–अपको समयमा झूटो जन्ममिति नै किन नदिएका होउन्। हालसम्म युट्युबले अकाउन्ट खोल्दा प्रयोगकर्ताले दिएको जन्ममितिमा मात्र भरोसा गर्थ्यो, तर नयाँ प्रणालीले प्रयोगकर्ताको गतिविधिका आधारमा उसको वास्तविक उमेरको अनुमान गर्नेछ। प्रयोगकर्ताले हेर्ने भिडियोको प्रकार, प्लेटफर्ममा गर्ने खोज, र अकाउन्ट सक्रिय भएको अवधि जस्ता विवरणको विश्लेषण गरेर उमेर पत्ता लगाइनेछ। यस कदमको उद्देश्य नाबालिगले वयस्कको अकाउन्ट प्रयोग गर्ने वा आफ्नो उमेर लुकाउने अवस्थालाई नियन्त्रण गर्नु हो।

यदि प्रणालीले कसैलाई १८ वर्षभन्दा कम उमेरको ठानेमा, त्यस अकाउन्टमा व्यक्तिगत रुचिअनुसारका विज्ञापन तुरुन्त बन्द हुनेछन्। साथै, डिजिटल वेलबिइङ सुविधा सक्रिय भई सुत्ने समय सम्झाउने र स्क्रीन टाइमको निगरानी गर्ने व्यवस्था लागु हुनेछ। केही संवेदनशील वा बारम्बार हेर्दा हानिकारक हुनसक्ने सामग्रीमा पनि पहुँच रोक लगाइनेछ।

तर यो प्रणाली पूर्ण रूपमा त्रुटिरहित नरहेको कम्पनीले स्वीकार गरेको छ। कहिलेकाहीँ वयस्क प्रयोगकर्तालाई पनि नाबालिगको रूपमा चिनिन सक्ने सम्भावना छ, जस्तै बच्चाहरूको सामग्री हेर्ने बानी भएका अभिभावकहरू। यस्तो अवस्थामा प्रयोगकर्ताले सरकारी परिचयपत्र, आफ्नो फोटो वा क्रेडिट कार्ड विवरणमार्फत उमेर प्रमाणित गर्नुपर्नेछ। यद्यपि, यसले गोपनीयताको सवालमा केही प्रयोगकर्ताको चिन्ता बढाउन सक्छ।

युट्युबले यस प्रणालीलाई सुरुवातमा अमेरिकामा मात्र लागू गर्नेछ। प्रयोगकर्ताको प्रतिक्रिया र प्रणालीको सटीकतामा सुधार गरेपछि मात्र यसलाई अन्य देशमा विस्तार गरिने कम्पनीले जनाएको छ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर