•  २६ मंसिर २०८२, बिहीबार

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

- भाद्र ६, २०८२ मा प्रकाशित


काठमाडौँ । केही दिनयता देशका विभिन्न भेगमा हल्का वर्षा भएको छ । तीन दिनअघि सुदूरपश्चिम भेगबाट सुरु भएको बदलीसँगै देशका विभिन्न भूभागमा हल्का वर्षा भएको हो । लुम्बिनी र गण्डकी प्रदेश हुँदै हल्का वर्षाको क्रम बागमती प्रदेश र प्रदेश १ सम्म पुगेको छ ।

योसँगै हिउँदको याम मध्य र पूर्वी भेगमा वर्षा नभई जाने सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको हिउँद जान अब एक दिन मात्र बाँकी छ । फागुन १५ गतेलाई हिउँद सकिने मिति मानिन्छ । मौसमविद् मञ्जु बासीका अनुसार दुई दिनअघि गण्डकको कास्की र पोखरामा हल्का वर्षा भयो । त्यसअघि पश्चिम तराई छोएका केही भेगमा हल्का वर्षा भएको थियो । बागमती प्रदेशका पहाडी भेगमा हल्का वर्षा भए पनि काठमाडौँमा भइहाले पनि फाटफु्ट मात्र वर्षा हुने सम्भावना छ ।

उपत्यकाको आकाशको वायु्मण्डलमा लामो समयदेखि तैरिएर बसेको प्रदूषणको तुवाँलो वर्षा नहुँदा हट्न सकेको छैन । उहाँ भन्नुहुन्छ, “त्यो हट्न सामान्य वर्षा हुनै पर्छ तर अझै पनि काठमाडौँमा राम्रो पानी पर्ने जलवाष्पको अभावका कारण सम्भावना छैन् ।” उच्च हिमाली भेगमा भने हल्का हिमपात हुने महाशाखाले जानकारी दिएको छ ।

फागुन १५ पछि मनसुन पूर्वको याम सुरु हुने भएकाले अहिलेको हल्का वर्षाले त्यो यामको उद्घोष भने गरेको छ । यो याममा हावाहुरी चल्ने, चट्याङ र मेघ गर्जनसहितको वर्षा हुने र पूर्वी भेगबाट नेपालमा मनसुन भित्रिने वातावरण सिर्जना हुन्छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर