सम्पादकीय : हार्दिक श्रद्धाञ्जलि – बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा भए नेम्वाङ

- भाद्र २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बने ।

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा भए ।

संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न मानिसहरुको लामो लाइन लागेको छ । लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट सबै क्षेत्र शोकाकुल भएको छ ।

नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण गरिरहनेछन् ।संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेका थिए । नेम्वाङले त्यसलाई निकास निकाली हाल्थे ।

अनुचित लेनदेन वा मिटरव्याजीसम्बन्धी विधेयक संसद्मा जटिल अवस्थामा पुगेकोे अवस्थामा त्यसलाई संसद्बाट पारित गरेर कानुन बनाउने दिशातर्फ निर्णायक भूमिका खेल्ने काम नेम्वाङबाट नै भएको थियो । नेम्वाङको भूमिकाबिना मिटरब्याजीसम्बन्धी कानुन पारित हुन सहज थिएन ।

उनी अत्यन्त मृदुभाषी, सरल र मिलनसार रहेका नेम्वाङका गुण सबैले अनुकरण गर्न योग्य रहेको थियो । कासिन न्यूज परिवार नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर