•  २६ चैत्र २०८१, मंगलवार

राष्ट्रियताका पक्षपाती निधि कतिपय अवस्थामा पार्टीभित्रै शङ्काको सिकार बन्न पुगे

- फाल्गुन १४, २०८१ मा प्रकाशित


 

सञ्जय पन्थी

 

पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछ भन्ने उनको बुझाइ थियो

नेपालको राजनीतिमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ । राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी नेता भनेर चिन्दछ । नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे । तीमध्ये निधिको आदर्श, चरित्र र व्यवहारमा कति गान्धीवादी गुण रह्यो ? निधिको जन्मोत्सवका अवसर पारेर केलाउँदा अन्यथा नहोला । आदर्शनगरी जनकपुरवासी निधिलाई किन, गान्धीवादी भनेर स्मरण गर्छन् ? गान्धीको नेतृत्वमा भारतमा स्वतन्त्रताको प्राप्तिको आन्दोलन चलिरहेको थियो ।

जयप्रकाश नारायण (जेपी) र राममनोहर लोहिया अग्रमोर्चामा थिए । त्यसबखत विहार पुगेका निधिको लोहियासँग भेट हुँदा लोहियाले भनेछन्, “म मारवाडी भएर राजनीतिमा लागेको छु, तपाईं कायस्थ भएर पनि व्यापारमा ?” लोहियाको उक्त वचनले निधिलाई राजनीतिमा होमिन उत्प्रेरित ग¥यो ।गान्धीले गोपालकृष्ण गोखलेलाई राजनीतिक गुरु माने जस्तै निधिले लोहियालाई राजनीतिक गुरु मानेका थिए । निधिका पुत्र एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘पिताजीमा गान्धीको आदर्श र विचार मात्र नभएर आजीवन चरित्र पनि कायम रहेको बताउछन् ।
गान्धीले जस्तै सत्य र अहिंसाको जगमा राष्ट्र पुनर्निर्माण हुनुपर्छ र त्यो पुनर्निर्माण गाउँबाट सुरु हुनुपर्छ भन्ने महेन्द्रनारायणको बुझाइ थियो । उनले २०५४ वैशाख ३० मा स्थानीय निकायको निर्वाचन दलविहीन प्रतिस्पर्धा हुनुपर्छ भन्दै विज्ञप्ति नै निकालेका थिए ।

यसअघि पनि उनले पटक–पटक कांग्रेस केन्द्रीय समितिमा गाउँ–गाउँमा दलीय राजनीतिक अभ्यास गर्नु हुँदैन । यसले योग्य मान्छे पाखा लाग्छन् भन्ने कुरा उठाउने गर्थे । गाउँ–गाउँबाट योग्य मान्छे पाखा लाग्दै जाने र दलको झन्डा बोकेका तर अयोग्य मान्छेले स्थानीय सरकारमा प्रतिनिधित्व गर्दै गए भने भोलिको नेपाल कस्तो होला ? भन्ने चिन्ता उनमा थियो ।स्थानीय निर्वाचनको सन्दर्भमा प्रजातन्त्रवादीका हैसियतले गाउँमा दलीय राजनीतिक अभ्यास हुनुहुँदैन । यसलाई समयमै निरुत्साहित गर्न सकेनौँ भने भोलि गाउँ, नगर, टोलमा विकासका लागि सोच्ने समाजवादी र

विकासपे्रमी योग्य मान्छे पाखा लाग्नेछन् र पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछ भन्ने उनको बुझाइ थियो ।निधिको स्थानीय निकायको निर्वाचन बारेको बुझाइलाई अहिलेसम्म पनि उपहास गरिँदै आएको छ । स्वतन्त्र रुपमा विजयी भएका नगर प्रमुखहरु बालेन साह, हर्क साम्पाङ, गोपी हमाललगायतका व्यक्तिहरुको कल्पना निधिले उहिल्यै गरेका थिए ।

निधिले ‘भोलि गाउँ, नगर, टोलमा विकासका लागि सोच्ने समाजवादी र विकासपे्रमी योग्य मान्छे पाखा लाग्नेछन् र पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछन्’ भनेको कुरा अहिले छर्लङ्ग भएको छ । पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले नेपालका पार्टीहरु नै कब्जा गरेको अवस्था छ । वित्तीय अनुशासनमा राज्यका संयन्त्र कमजोर भएका उदाहरणहरु एकपछि अर्को आइरहेका छन् । राजनीतिक नेतृत्वले निधिको जीवनबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक छ ।

गान्धीको आदर्शलाई निधिले जीवनमा उतारेका दृष्टान्त कैयौँ छन् । गान्धीले ‘ग्राम स्वराज’ को कल्पना गरेर ‘ग्राम पञ्चायत’ अवधारणामा स्थानीय निर्वाचन दलविहीन हुनुपर्छ भनेका थिए । २००४ सालमा उहाँ सत्याग्रहका पक्षपाती रहनुभयो भने २०१४ सालमा सत्याग्रही हुँदा गिरफ्तार हुनुभयो । २०१७ साल पुस १ गते नेपाली राजनीतिमा अवाञ्छित दिनका रुपमा दर्ज छ । यस घटनापछि नेपाली कांग्रेसको पटना सम्मेलनले सशस्त्र आन्दोलन गर्ने निर्णय ग¥यो ।

हिंसाको राजनीतिमा असहमति प्रकट गर्दै निधि नेपाल फर्किए । उनमा निहित अहिंसात्मक आदर्श विचार त्यसबखत पनि प्रकट हुनपुग्यो । निधि भारत प्रवासमै बसेर जोगिन सक्थे वा स्वदेश फर्किएपश्चात् प्रलोभित भएर पद र प्रतिष्ठाको जीवनमा रमाउन सक्थे तर उनीभित्रको निष्ठा र आदर्शले नै गिरफ्तारी दिए ।सत्याग्रहीको आदर्श गुण कायम राख्नुपर्छ भन्ने उनको मान्यता थियो । सत्याग्रहीमा स्वदेशी, अपरिग्रह, निर्भय, आत्मसंयमी र आत्मानुशासनको गुण हुनैपर्छ । त्यो गुण चरित्र र व्यवहारमा प्रकट हुनुपर्छ । सच्चा सत्याग्रही त्यागी, आत्मसंयमी र अपरिग्रही हुनुपर्छ । चारित्रिक एवं नैतिक बल नभई कुनै व्यक्ति सत्यको मार्गमा हिँड्न सक्दैन ।

महेन्द्रनारायण निधि

सत्यका अनुयायीमा मन, वचन र कर्ममा स्वनियन्त्रण गर्नसक्ने क्षमता रहन्छ । अहिंसा र सत्याग्रहबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ । उल्लेखित गुणका कारण निधि अहिंसात्मक आन्दोलनका पर्यायी बने । ‘साधन शुद्ध नभएसम्म साध्यमा पुग्न सकिँदैन’ भन्ने गान्धीको भनाइलाई उनले जीवनभर आत्मसात् गरे ।त्यस बखत नेपालमा पनि अहिंसात्मक आन्दोलन चलाउनुपर्छ भन्ने उनको मान्यता थियो । हिंसालाई पृष्ठपोषण गर्दै पद र प्रतिष्ठाको राजनीति उनले कहिल्यै गरेनन ।

त्यसैले वर्तमान पुस्ताले निधिलाई स्मरण गरिरहन्छ । समाजवादी चिन्तक स्व प्रदीप गिरीका अनुसार नेपाली कांग्रेसको इतिहासमा निधिको त्यो असहमति नै सत्याग्रहको बिजारोपण थियो । कालान्तरमा त्यो विमति ‘पुष्पित पल्वित’ भएर झाँगियो । त्यही असहमतिको जगमा २०४२ सालको सत्याग्रह हुनपुग्यो । २०४२ सालको जगमा २०४६ सालको शान्तिपूर्ण आन्दोलन हुनपुग्यो । उहाँको आदर्श, चिन्तन र चरित्रमा एकरुपता पाइन्छ ।

त्यसबेलाका नेता बिपी कोइराला र सुर्वण शमशेरसँग पृथक मत राखेर कांग्रेस भएर बाँच्नु कल्पना बाहिरको विषय थियो । त्यसका निम्ति उच्चकोटीको आत्मबल र नैतिक साहसको खाँचो थियो । ‘निधिमा उल्लिखित दुवै गुण रहेको गिरीले लेख्नुभएको छ । बिपी, गणेशमान, किसुनजी, महेन्द्रनारायण, सिके प्रसाईं, योगेन्द्रमान शेरचनलगायतका कैयौँ नेताहरुको आदर्श र निष्ठाले कांग्रेसको राजनीति तप्त थियो । कांग्रेसका लागि त्यो युग स्वर्णयुग थियो ।

नेताहरुमा त्याग र समर्पणको उच्च संस्कार थियो । २०१५ सालको पहिलो संसद्मा किसुनजी सभामुख र निधि उपसभामुख बने । राजा महेन्द्रद्वारा प्रजातन्त्रको अपहरणसँगै दुवै जना जेल परे । संयोग दुवै जनालाई नख्खु जेलमा राखियो । दवै नेता अहिंसाका पक्षपाती थिए । ‘जेलमा नै संसद् सञ्चालन गरौँ’ भन्नेसम्मको छलफल चलाएको स्मरण समकक्षी गान्धीवादी नेता स्व रामहरि जोशीले एक प्रसङ्गमा भनेका थिए ।

बिपी, गणेशमान, शैलेजा आचार्य, केबी गुरुङलगायतका नेता राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै २०३३ पुस १६ गते भारतबाट स्वदेश फर्किए । बिपीमाथि राज्य विप्लवका सातवटा मुद्दा थिए । ती मुद्दामा फाँसीको सजायसम्म हुनसक्थ्यो । बिपीमा निहित सुषुप्त गान्धीवादी गुण त्यस बखत एक्कासि प्रकट भएकामा शुभचिन्तकहरु भयले त्रस्त थिए । बिपी बाँचुन्जेल निरङ्कुशताविरुद्ध सङ्घर्षरत रहे । स्वदेशमा रहेर निरङ्कुशताविरुद्ध सङ्घर्ष गर्नेहरुमा निधि अग्रपङ्क्तिमा थिए । निःसन्देह गान्धीका अहिंसात्मक दर्शनलाई उनले जीवनभर अपनाए । निधि आजीवन ‘निष्काम कर्मवादी’ रहे ।

जीवनका कठिन घडीमा पनि आस्थामा विचलित नभई निधि ‘अनाशक्त योग’का साधक रहे । कांग्रेस स्थापनाकालदेखि नै निधि अहिंसात्मक राजनीतिका पक्षपाती रहे । जसरी गान्धीले भारतमा हिंसालाई सहारा बनाएनन , त्यसैगरी, निधिले हिंसाको राजनीतिसँग कहिल्यै सम्झौता गरेनन । दुग्र्भाय सत्यलाई आचरणमा व्यक्त गर्ने राष्ट्रियताका पक्षपाती निधि कतिपय अवस्थामा पार्टीभित्रै शङ्काको सिकार बने । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरिरहँदा त्यसलाई रोक्न गणेशमानले निधिलाई प्रधानमन्त्री बनाउन चाहेका थिए । आफ्नो असहमतिका बाबजुद भएको उक्त निर्वाचनमा निधि उम्मेदवार बन्न चाहेनन । बरु राजनीतिबाट विश्राम लिए । सरलता, सादगी र स्वच्छ छविप्रति उनी सदैव सचेत रहन्थे । पद, पैसा र शक्तिबाट उनी टाढै रहे ।
पञ्चायत सरकारले २०२८ सालमा नयाँ शिक्षा लागू गर्दा उनले मातृभाषामा शिक्षाको सुनिश्चित गर्न माग गरेका थिए । साथै, उनले उक्त शिक्षा नीतिकोे खुलेर विरोध गरे । गान्धीले सन् १९३७ मा बर्धा शिक्षा सम्मलेनमा मातृभाषासहितको शिक्षाको पक्षमा आवाज उठाएका थिए । साथै, आधारभूत तहको शिक्षा राज्यले निःशुल्क गर्नुपर्ने प्रस्ताव पारित गराएका थिए । भारतको इतिहासमा ‘बर्धा एजुकेसन कन्फ्रेन्स’को छुट्टै महत्व छ । त्यसैले भन्न सकिन्छ, गान्धी विचार र क्रियाकलापबारे पनि निधिमा गहन अध्ययन र प्रभाव थियो ।

निधि २००७ सालको क्रान्तिको सफलतासँगै महोत्तरी जनसरकारको प्रधानमन्त्री बने । पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा प्रस्तुत गरे । २०१५ सालको निर्वाचनमा उम्मेदवार बनेर विजयी भए । पहिलोपटक २००४ सालमा जेल परेका निधि जीवनमा १२ पटक जेल परे । संयोग गान्धी पनि जीवनमा १२ पटक नै जेल परेका थिए । पारिवारिक स्रोतका अनुसार निधिका पिता राजेश्वर निधि पनि गान्धीवादी रहेको जानकारी हुन्छ । परिवारका अनुसार राजनीतिमा क्रियाशील रहे पनि निधि कृषि कर्ममा सहभागी हुन्थे । गाउँमा सिँचाइका लागि पैनी, कुलो, नहर बनाउन जुट्थे ।

गान्धीको आत्मनिर्भरताको सिद्धान्तले उनी निर्देशत रहेका थिए । गान्धीले भनेका थिए , ‘अन्न, वस्त्र, आरोग्य र शिक्षा’ मा आत्मनिर्भर हुनसके दुनियाँमा कसैको ‘गुलाम’ हुनु पर्दैन ।
निधि ‘सादा जीवन, उच्च विचार’सहित त्यागयुक्त जीवन बाँचे । त्यसैले कर्म र व्यवहारले निधि सच्चा गान्धीवादी बने । निष्ठावान् निधि, निर्विकल्प प्रजातान्त्रिक आस्थामा अडिग रहेका थिए । पद र प्रतिष्ठाका लागि उनले जीवनभर कसैसँग सम्झौता गरेनन ।

सच्चा सत्मार्गीको आत्मा मणि जस्तै शुद्ध र ‘स्फटिक’ रहन्छ । गान्धीमा जस्तै निधिमा पनि ‘स्फटिक’ जीवनशैली झल्किन्छ । अन्धभक्त कार्यकर्ताको आत्मप्रशंसामा उनी कहिल्यै रमेनन । निधिको १०४औँ जन्मोत्सव मनाइरहँदा नेपाली कांग्रेसका नेताले दूरदराजमा रहेका सच्चा शुभचिन्तक र आस्थाका धरोहर मतदाताको अनुहार निधिमा रहेको विवेकको चस्माले हेर्न सक्नुपर्छ । अनिमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुनेछ ।

लेखक अहिंसा र गान्धी विषयका अध्येता हुन्

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर