
एमए पास गर्ने पहिलो नेपाली : नेपालमा नै एसएलसी परीक्षा दिन पाउने व्यवस्था गर्ने व्यक्ति
- फाल्गुन २६, २०८१ मा प्रकाशित


नेपाल गौरवपूर्ण अतीत भएको मुलुक हो । यस देशको वैभव तथा छवि उजिल्याउन इतिहासको कालखण्डमा धेरै व्यक्तित्वहरूको योगदान, त्याग, बलिदान, प्रतिबद्धता र समर्पण रहिआएको छ । यस्ता व्यक्तित्वहरूले हिजो गरेका कार्यहरूबाट भएका उपलब्धिहरू आजको पुस्तालाई जानकारी गराउनैपर्ने भएको छ । हामी सबैले हिजोलाई स्मरण गरी इतिहासलाई सम्मान गर्नैपर्ने हुन्छ ।
यस्तै तथ्यलाई आत्मसात् गरी सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा उनले नेपालको शैक्षिक, साहित्यिक तथा आध्यात्मिक क्षेत्रमा लगाएका गुणहरू स्मरण गर्नुपर्ने हुन्छ । पृथ्वीनारायण शाहकै एकीकरण अभियानमा पाण्डेहरू सरिक भएका थिए । गोरखालगायत केही चौबिसी राज्यहरूमा पाण्डेहरू राजगुरु रहेको इतिहासले बताउँछ । नवनेपाल निर्माण भएपछि शाह राजाका विश्वासपात्र गुरु हुन पुगेका रुद्रराज पाण्डेका पुर्खा तानसेनको धर्मपानीबाट राजधानीको मुटु प्युखामा स्थायी बसोबास गर्न थालेका थिए ।
यसै वंशका पद्मराज पाण्डेका पुत्ररत्नका रूपमा १९५७ साल फागुन २६ गते रुद्रराज पाण्डेको जन्म भएको थियो । राजगुरु घराना खलकले संस्कृत शिक्षा आर्जन गर्ने तत्कालीन परम्पराअनुसार तीनधारा पाठशालामा रुद्रराज पाण्डेले अध्ययन प्रारम्भ गरे । उतिबेला राणा परिवार र केही हुनेखाने वर्गका मानिस मात्र त्यतिबेलाको दरबार स्कुलमा अङ्ग्रेजी शिक्षा पढ्न आकर्षित हुन थालेका थिए ।
यसैअनुसार रुद्रराज पाण्डे दरबार स्कुलमा भर्ना भई १९७५ सालमा प्रथम श्रेणीमा ‘म्याट्रिक’ उत्तीर्ण गर्न सफल भए । त्यतिबेला दरबार स्कुलले कलकत्ता विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको हुँदा परीक्षा दिन चाहिँ कलकत्ता नै जानुपर्ने थियो । उक्त समय म्याट्रिक पास गर्ने व्यक्ति औँलामा गन्न सकिने मात्र थिए । तसर्थ, म्याट्रिक उत्तीर्ण हुनेलाई ठूलो सम्मान गर्ने चलन थियो । राणा खलकले रु एक हजारको दोसल्ला पाउँथे भने अरूलाई रु ३०० को दोसल्लाबाट सम्मानित गरिन्थ्यो ।

यसबाट राणाशासन कालमा शासक र जनसाधारण बीचमा विभेदकारी नीति रहेको बुझ्न सकिन्छ । सरकारी छात्रवृत्तिमा नै पाण्डेले इलाहाबाद विश्वविद्यालयबाट १९८१ सालमा इतिहासमा स्नातकोत्तर उत्तीर्ण गरेपछि इतिहासमा एमए गर्ने पहिलो नेपाली व्यक्ति बने ।विसं १९८२ देखि नै उनले त्रिचन्द्र कलेजमा इतिहास विषयको प्राध्यापक नियुक्त भई दरबार स्कुलमा समेत अध्यापन गर्न प्रारम्भ गरे । कालान्तरमा उनी त्यही दरबार स्कुलको पहिलो नेपाली ‘हेडमास्टर’ बन्न पुगे । पाण्डेकै अनवरत प्रयासबाट त्रिचन्द्र कलेजमा नेपाली विषयको पठनपाठन सुरु भयो । त्रिचन्द्र कलेजले सुरुमा कलकत्ता र पछि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो ।
साथै, नेपालमा नै एसएलसी परीक्षा दिन पाउने व्यवस्था उनले नै प्रारम्भ गराएका थिए । १९९५ सालमा त्रिचन्द्र कलेजको प्राचार्य भई कला र विज्ञानका विभिन्न थप विषय अध्यापन प्रारम्भ गराउने कार्य पनि उनीबाटै भएको देखिन्छ । हाइस्कुल र कलेज दुवैतिरको शिक्षालाई प्रभावकारी कार्यान्वयन गराउने कार्यमा उनले कहिल्यै कमी आउन दिएनन । एक कुशल शिक्षक, प्राध्यापक र शैक्षिक प्रशासकका रूपमा आफ्नो योग्यता देखाएकै कारण राणा शासकले पनि उहाँप्रति कहिल्यै वक्रदृष्टि राखेनन् ।
१९९७ सालको विद्यार्थी आन्दोलनको समयमा उनले खेलेको भूमिकाको मानिसले आजसम्म स्मरण गरिरहेका छन् । जयतु संस्कृतम् आन्दोलनका कारण परीक्षा दिन जान नपाएका विद्यार्थीहरूलाई नेपालमै परीक्षा दिने व्यवस्था मिलाउन उनी सफल भए । २००७ सालको परिवर्तनपश्चात् शिक्षा सचिव र पुरातत्व विभागका निर्देशक भई उनले गरेको योगदान उल्लेख्य रहेको छ ।
राणाशासन रहँदा र प्रजातन्त्र आएपछि पनि उनको दायित्वमा कुनै फरक परेन । उनले २००७ देखि २०१५ सालसम्म सक्रिय भई सरकारबाट प्राप्त भएका दायित्वहरू कुशलतापूर्वक निर्वाह गरे । २०१५ सालको नेपालको प्रथम आमचुनावको समयमा निर्वाचन आयुक्त भई निर्वाचन सम्पन्न गराउन उनले खेलेका भूमिका सराहनीय रहेको छ । निर्वाचनप्रति जनचेतना बढाउने खालका नाटक नै मञ्चन गराउनुलाई त्यतिबेला प्रशंसनीय कार्य ठानिएको थियो ।
विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको प्रभावकारी संरचना र शैक्षिक कार्यक्रमको उन्नयनका लागि राजा महेन्द्रले २०२२ सालमा रुद्रराज पाण्डेलाई उपकुलपति नियुक्त गरे । त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार र भौतिक पूर्वाधार सिर्जना गर्न उनको कार्यकाल कोसेढुङ्गा साबित भएको छ । उनले त्रिपुरेश्वरस्थित पाहुनाघरमा रहेको केन्द्रीय कार्यालय कीर्तिपुरस्थित स्मृति भवनमा स्थानान्तरण गरी व्यवस्थित गराए । लालदरबारमा रहेको केन्द्रीय पुस्तकालय कीर्तिपुरमा नवनिर्मित भवनमा सारे ।
नेपाल अध्ययन संस्थान (कालान्तरमा नेपाल र एसियाली अध्ययन संस्थान हुँदै हाल नेपाल र एसियाली अनुसन्धान केन्द्र भएको छ) र सेडाको गठन उहाँकै कार्यकालमा भएको तथ्य स्मरणीय छ । उनकै कार्यकालमा विज्ञान सङ्कायमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रमहरू थपिए । छात्रावास, गान्धीभवन, रोज गार्डेन आदि उहाँकै समयमा निर्माण भएका थिए । राजा महेन्द्रले चाहँदाचाहँदै पनि उनले पुनः त्रिविको उपकुलपति हुन अस्वीकार गरे ।
रुद्रराज पाण्डेलाई लोकले एकजना मूर्धन्य साहित्यकारका रूपमा पनि प्रतिस्थापित गरेको छ । लेखनाथ पौडेल, शम्भुप्रसाद ढुङ्गेल, कृष्णलाल अधिकारी आदि साहित्यकारसँग उनको उठबस थियो । विद्यार्थीकालमा नै चन्द्रिका र सूक्तिसिन्धु जस्ता पत्रिकामा उनको कविताहरू प्रकाशित भएका थिए । उहाँले रचना गरेको रूपमती उपन्यास नेपालको इतिहासमा पहिलो मौलिक उपन्यास बन्न पुगेको छ ।
रूपमती उपन्यासले तत्कालीन नेपाली समाजको राम्रो चित्रण गर्न सफल भएको छ । अतः उक्त उपन्यासलाई इतिहासको स्रोतका रूपमा लिने पनि गरिन्छ । उक्त उपन्यास अङ्ग्रेजी र उर्दू भाषामा समेत अनुवाद हुनुले उनको उपन्यासकारितालाई प्रस्ट्याउन मद्दत पुगेको छ । चम्पाकाजी, प्रायश्चित र प्रेमजस्ता उपन्यास पनि नेपाली साहित्यानुरागीहरूले कोसेली पाएका छन् । नेपालको गौरवपूर्ण अतीतको परिचय गराउने हाम्रो गौरवः हाम्रो नेपाल र नवरत्न जस्ता कृतिहरूले पाठकको मन छोएका छन् ।
यसैगरी, बालबालिकाहरूका लागि बालरामायण, बालकृष्णचरित्र, नीतिकथा जस्ता कालजयी कृतिहरू प्रकाशन भएका छन् । त्रिचन्द्र कलेज र दरबार स्कुल दुवैतिर इतिहास विषयको पठनपाठन भए तापनि नेपाली भाषामा इतिहासका कुनै पुस्तक नै थिएनन् । यसैले पाठ्यपुस्तकहरूको अभाव हटाउन रुद्रराज पाण्डेले बेलायतको र भारतको इतिहास लेखेका थिए ।
यसबाट विद्यार्थीहरू मात्र होइन, इतिहासका शिक्षकसमेत लाभान्वित भएका थिए । गोरखा भाषा प्रकाशनी समिति (पछि नेपाली भाषा प्रकाशनी समिति भएको) यी दुवैमा रही नेपाली भाषाका विभिन्न विधाका पुस्तक प्रकाशन गर्न पनि उनको सहयोगी भूमिका रहेको थियो । उनी शारदा पत्रिकाको प्रकाशन कार्यमा तन, मन र धनले खटिएका थिए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
-
लोकप्रिय चैत्र २६, २०८१तिलिचो तालबाट फर्कने क्रममा पर्यटकको मृत्यु
-
लोकप्रिय चैत्र २६, २०८१को हुन् उनीहरु ? : अनुसन्धानका क्रममा उनीहरू कुनै पार्टीमा आबद्ध नरहेको खुल्यो
Comments