•  २९ चैत्र २०८१, शुक्रबार

भारतीय र तेस्रो मुलुकका पर्यटक आउन छोडे

- चैत्र १, २०८१ मा प्रकाशित


नारायण अधिकारी,
चितवन ।
विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो । विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन् । स्वदेशी पर्यटकको सङ्ख्या पनि न्यून रहेको व्यवसायीले बताएका छन् ।

चितवन फरेष्ट रिसोर्टका सञ्चालक दीपक भट्टराई विगतका वर्षमा यतिबेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताए । चिनियाँ पर्यटक किन आएनन् भन्ने जानकारी नभएको भन्दै उनले नेपालीहरु नयाँ गन्तव्यहरुमा गएको बताए ।

उनले भने , “मनाङ, मुस्ताङ, राराजस्ता हिमाली क्षेत्रका गन्तव्यमा स्वदेशी पर्यटक गएका छन्, यहाँ कम आए ।” सौराहामा नयाँ कार्यक्रमहरु दिन नसक्दा पनि एक पटक यहाँ आउने पर्यटक फर्किएर आउन इच्छा नगर्ने उनको भनाइ छ ।सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपानेले खर्चिला चिनियाँ पर्यटकहरु सौराहा नआएको बताए । चिनियाँ पर्यटकको एक समूहको भनाइलाई उदृत गर्दै उनले भने , “काठमाडौँमा फागु खेल्न यस वर्ष भारतीयभन्दा चिनियाँ पर्यटक बढी आए, यहाँ भने आएनन् ।”

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया गतवर्षहरुको तुनलनामा सौराह आउने पर्यटक आधाभन्दा कमले घटेको बताए । चैतको पहिलो सातादेखि असारसम्म यहाँ धेरै पर्यटक आउने गर्दछन् । यो मौसमलाई सौराहाका होटल व्यवसायीहरुले राम्रो यामका रुपमा लिने गर्दछन् ।थपलिया मुख्य रुपमा सडकका कारण पर्यटक कमी भएको अनुमान गर्नुहुन्छ ।

काठमाडौँबाट आउने पर्यटकका लागि विस्तार हुँदै गरेको मुग्लिन–नौबीसे सडक, पोखराबाट आउने पर्यटकका लागि मुग्लिन–पोखरा सडक र भैरहवातर्फबाट आउने पर्यटकका लागि नारायणगढ–बुटवल सडकको अवस्था सहज नभएकाले पनि पर्यटक घटेको उनको अनुमान छ । यस्तै भारतको महाकुम्भ मेला पनि पर्यटकको घट्नुका कारण भएको उनको भनाइ छ ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे चिनियाँहरुले यसवर्ष ‘भिजिट नेपाल वर्षका’ रुपमा मनाएको भएपनि नेपाल कम आएको बताउँछन् । नेपालका पर्यटकीय गन्तव्यमा समेत गतिविधिहरु गरेर आकर्षण गर्न नसकेको उनको भनाइ छ । चीनको छेन्दु–पोखरा उडान भएपछि केही पर्यटक बढ्ने आशा आफूहरुमा रहेको उनले बताए । घिमिरेले भने , “सन् २०२५ मा चिनियाँ पर्यटकबाट धेरै आशा गरेको भएपनि हुन सकेन ।” नेपालको पर्यटन प्रवद्र्धनका लागि चीन र भारत नै मुख्य रहेको घिमिरेको भनाइ छ ।

गत वर्षमा यतिबेला एउटा हात्तीले पर्यटकलाई दैनिक तीन पटक जङ्गल घुमाउँथ्यो । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा अहिले यो सङ्ख्या आधा भएको बताउँछन् । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडा रेष्टुरेन्टहरुको व्यापार पनि आशातित नभएको बताउँछन् ।

सङ्घका अध्यक्ष गङ्गा गिरी चिनियाँ पर्यटक धेरै आउँदा चिनियाँ पर्यटक धेरै राख्ने होटलहरु भरिने र अन्य पर्यटकले अरु होटल भरिने भए पनि अहिले त्यस्तो नभएको बताउँछन् । गत वर्षहरुमा यतिबेला दैनिक पाँच सय चिनियाँ पर्यटक सौराहा आइपुग्थे । यो वर्ष एक सय ५० देखि दुई सय मात्रै चिनियाँ पर्यटक आएको उनी बताउँछन् ।एकैदिन एक हजार हाराहारीसम्म भारतीय पर्यटक आउने सौराहामा यतिबेला एक सय ५० हाराहारी मात्रै आएका छन् । गिरीले भने , “एक हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक आउने सौराहामा यो वर्ष देख्न मुस्किल छ ।”

उनको भनाइमा यस याममा ९९ प्रतिशतसम्म बुकिङ हुन्थ्यो । यस वर्ष ३५ देखि ४० प्रतिशत मात्रै पर्यटक छन् । भूकम्पअघिसम्म तातोपानी नाकाबाट आफ्नै सवारीमा आउने चिनियाँ पर्यटक सडक नबन्दा रोकिएको उनी बताउँछन् । यस्तै हवाई यात्रा महँगो हुँदा पनि चिनियाँसँगै अरु पर्यटक प्रभावित भएको गिरी बताउँछन् ।

अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत नेपाली छन् । उनले भने “धेरथोर स्वदेशी पर्यटकले सौराहा धानेको छ”, सौराहामा १४८ वटा होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । गिरीका अनुसार ती होटलमा रु चार खर्बभन्दा बढी लगानी छ । प्रत्यक्ष रुपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । बर्सेनि पर्यटक घट्दै गएपछि धेरै होटलको अवस्था नाजुक छ । गिरीले भने , “एउटा ठूलो होटल बैंकको लिलाम निस्किसकेको छ, अरु धेरै लिलामीको चरणमा छन् ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर