•  ३० चैत्र २०८१, शनिबार

गाईलाई पूजा गर्ने, शुद्धताका लागि गाईको गोबर र गहुँत मन्दिर तथा घरमा प्रयोग गर्ने देश हो : सभापति देउवा

- चैत्र १७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
डडेल्धुरा ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग रहेको बताएका छन् । डडेल्धुरा र डोटीको सङ्गमस्थल गहनानधाममा श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दू परम्परालाई मान्ने नेपालीको संस्कृति रहेको बताए । सभापति देउवाले पछिल्लो समयमा केही सांस्कृतिक विचलन आइरहेका उल्लेख गर्दै आफ्नो धर्म, संस्कारबारे सचेत रहन यस किसमका धार्मिक कार्यक्रम उपयोगी हुने धारणा राखे ।

“हामी हिन्दू संस्कृति र परम्परामा अडिग छौँ । हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो । गाईलाई पूजा गर्ने, शुद्धताका लागि गाईको गोबर र गहुँत मन्दिर तथा घरमा प्रयोग गर्ने देश हो”, उनले भने ,“गौ हत्या गर्न पाइँदैन । त्यसमा कडा कानुन छ । यसलाई अझै कडाइका साथ लागू गर्न हामी प्रतिबद्ध छौँ”, उनले भने ।

सभापति देउवाले सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणीधाम गहनान यस क्षेत्रको ठूलो र महत्वपूर्ण मसान भएको स्मरण गरे । “यो हाम्रो पुर्खाहरूको चिहान हो, उहाँहरूलाई यही जलाएको हो । यसका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ”, उनले भने ,“यो क्षेत्र विभिन्न ऋषिमुनिहरूले तपस्या गरेको पवित्र स्थान पनि हो । यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक म पनि पुगेको छु ।”

सभापति देउवाले गहानान क्षेत्रमाथि डाँडामा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झँदै उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर पूर्व उत्तरका स्थानीयको पवित्रस्थलका रूपमा गहनान रहेको बताए । उनले भने , “घण्टेश्वर उताका स्थानीय महाकाली नदी किनारमा रहेको परशुरामधाम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो । घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पूर्खौंदेखि रहिआएको छ । यो महत्वपूर्ण क्षेत्रको संरक्षण र प्रचार आवश्यक छ ।”

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर