•  २७ चैत्र २०८१, बुधबार

डढेलोमा परी हात्तीपोखरीकी २६ वर्षीया प्रतिमाको मृत्यु : उनका ४ साथीहरु घाइते

- चैत्र २२, २०८१ मा प्रकाशित


कासिन न्यूज,
पाँचथर ।
वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु भएको छ । चारजना घाइते भएका छन । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो ।

बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको गए राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ । उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए ।
हावाहुरी चल्नासाथ डढेलो वस्तीमा पस्ने खतरा रहेको उनको भनाइ छ । आगो निभाउन गएका स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन् ।

यस्तै फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन् । दाउरा बोकेर आउने क्रममा उनी डढेलोमा परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको धरानमा उपचार भइरहेको छ ।

किन लाग्छ डढेलो?

विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ। डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ। ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको विज्ञहरू बताउँछन्।

जलवायुमा आएको परिवर्तनले वर्षाको ढाँचा परिवर्तन भइरहेको छ। खडेरी बढिरहेको छ। जसका कारण पनि डढेलोका घटना बढेका हुन्। जर्मन वाचले २५ जनवरी २०२१ मा प्रकाशित गरेको एक रिपोर्टले जलवायु परिवर्तनको असरका कारण नेपाल विश्वको नवौं जोखिमयुक्त देशमा पर्छ।

यस्तै‚ मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि डढेलोका घटना बढाएको बढाएको हो । । विगतमा वनमा दाउरा र खोस्मेरो (सुकेर झरेको पात) सङ्कलनमा प्रतिस्पर्धा हुने भए पनि पछिल्लो समय सङ्कलन गर्न नै छोडिएको छ। दाउराको सट्टा गोबर ग्यास तथा एलपी ग्यासको प्रयोग हुन थालेको छ। गाईभैंसी पाल्न छोडेपछि वनमा आश्रितको संख्या घट्दै गएको छ।

यस्तै‚ गाउँबाट शहरमा बसाइँसराइ हुँदा खेतबारी बाँझिएको छ। सुक्खा मौसममा सुकेका पातपतिङ्गरमा आगो चाँडो सल्किने भएकाले पनि डढेलोको प्रकोप बढी हुने गरेको छ। “प्रज्वलनशील पदार्थ व्यवस्थापन ठूलो चुनौतीका रूपमा रहेको छ। पातपतिङ्गर सङ्कलन गरेर व्यवस्थापन गर्न सके डढेलोका घटनालाई कम गर्न सकिन्छ। पातपतिङ्गरबाट कोइला बनाएर बिक्री सकिन्छ ।डढेलो नियन्त्रणका लागि स्याउला एवं पत्कर सोहोर्ने परम्परागत कार्यलाई बढावा दिनुपर्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर