•  २९ चैत्र २०८१, शुक्रबार

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि राप्रपाको सभा

- चैत्र २५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भनेको थियो । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको छ ।संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।
सभा सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस बल्खुमा पुगेर सभामा परिणत हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।प्रदर्शन तथा सभालाई भव्य, सभ्य र शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ । यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो ।

दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने अर्बौंको भौतिक क्षति पुगेको अनुमान छ ।लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो । तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ ।राप्रपाले चैत २६ गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जनमान गुरुङले समेत समर्थन जनाएका छन् ।

यसअघि चैत २२ गते अपराह्न राप्रपाले भृकुटीमण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेलमार्फत् जानकारी गराएको थियो । तर जिल्ला सुरक्षा समितिको बैठकले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयले पत्रमार्फत् राप्रपालाई दिएको थियो । त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो ।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर