•  ९ बैशाख २०८२, मंगलवार

महाधिवेशन नगर्ने शुभेच्छुक संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने तयारीमा कांग्रेस

- चैत्र ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसले १३ भातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । निर्देशन प्राप्त पछि पनि महाधिवेशन नगर्ने शुभेच्छुक संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने भएको छ ।पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ शुभेच्छुक संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात शुभेच्छुक संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन ।

प्रमुख शुभेच्छुक संस्थाका रुपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य शुभेच्छुक संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् ।कांग्रेसका एक पदाधिकारी अनुसार तदर्थ समितिमा रहेका सबै शुभेच्छुक संस्थाहरु भंग हुनेछन् । ‘अधिवेशन गराउने छाँटकाँट नै देखिएन । १/२ महिना थपौं भनेपनि प्रक्रिया नै सुरु गरेका छैनन्,’ उनले भने, ‘अहिले नेतृत्व गरि रहेकाहरूको कार्यसमिति भंग नगरी पार्टीसँग अर्को विकल्प नै छैन ।’

शुभेच्छुक संस्थाहरुमा नयाँ समिति कुन विधिबाट ल्याउने बारे पार्टी बैठक बसेर मात्रै निर्णयमा पुगिने उनले बताए ।यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपाङमा संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ संघले पहिलोपटक महाधिवेशन गरेका हुन् । नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर