महासंघको महासंग्राम
प्रचार र सर्मथनको व्यापकतालाई हेर्ने हो भने वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ अग्र देखीँदै
- चैत्र २७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल उधोग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आगामी चैत्र २८ र २९ मा निर्वाचन हुन् लागिरहेको छ । आगामी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष सहित विभिन्न पदमा भिडन्त हुँदै छ ।
प्रतिष्पर्धामा वरिष्ठ उपाध्यक्ष पदमा ३ जना होमीएका छन् । जसमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईको दावी रहेको छ ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन कूल सदर मतमध्ये ५० प्रतिशत कटाउनु पर्ने प्रवाधान रहेकोले निर्वाचन दोस्रो चरणमा जान सक्ने देखिन्छ।
यदि दोस्रो चरणमा निर्वाचन गए पहिलो चरणबाट धेरै मत प्राप्त गर्ने २ उम्मेदवारबीच पुनः प्रतिस्पर्धा गर्ने छन्। तर उम्मेदवारहरुको पक्षमा खुलेका उद्योगी र समर्थन मतमा परिवर्तन भएमा भने वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन आवश्यक नरहने देखिन्छ।
कसलाई कसको समर्थन?
प्रचार र सर्मथनको व्यापकतालाई हेर्ने हो भने वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ अग्र देखीएका छन् । यही समूहको एसोसियट तर्फ बाट उपाध्यक्ष पदका उम्मेदवार भरतराज आचार्यलाई वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको साथ र सहयोग रहेको छ । आचार्य उमेशलाल समूहबाट आधिकारिक उम्मेदवार भइसकेका थिए।
यस्तै, उमेशलाललाई औषधि उत्पादक संघको पनि समर्थन छ। त्यस्तै, पूर्वअध्यक्षहरु चण्डिप्रसाद ढकाल, भवानी राणालगायत पूर्व पदाधिकारीको समर्थन आफूलाई रहेको यो समूहको दाबी छ।
यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याक्षी अन्जन श्रेष्ठ आफू महासंघको वर्तमान समितिमा उपाध्यक्ष रहेको र देश दौडाहाका बेलामा देशभरका उधोगी व्यवसायीहरुको साथ र सहयोग आफू सँग रहेको विश्वास अन्जन श्रेष्ठको छ ।
अन्जनलाई नेपाल अटो मोबिइल्स व्यवसायी संघ (नाडा) को समर्थन रहेको छ। केही पूर्व अध्यक्षहरुको समर्थन पनि आफूले पाउने विश्वास अन्जनको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्को प्रत्याक्षी रामचन्द्र सघांई आफू पहिलो चरणबाटै ५० प्रतिशत मत कटाउने बताउँछन्। एसोसियट तर्फको ठूलो समूह आफ्नो पक्षमा रहेको भन्दै उनी आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। महासंघमा सबैभन्दा धेरै मतदाता एसोसियटतर्फ रहेका हुन्छन्। मतदाताकारुपमा जिल्ला नगरबाट १२१, वस्तुगत तर्फ १२३, एसोसियटतर्फ १७६२ र द्वि–राष्ट्रिय तर्फ २० मतदाता रहेका छन्। यद्यपि, महासंघको निर्वाचन कमिटीले अन्तिम नामावली भने प्रकाशन गर्नै बाँकी छ ।
के–के अजेण्डा बोकेर चुनावी मैदानमा होमिएका छन् ?
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको तीनै समूहले मूल मुद्दा भने मुलुकको वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बनाएका छन्।
अर्थतन्त्रमा देखिएको समस्याले उद्योग धराशायी भएको, बेरोजगारी बढेको र सम्भावित परिदृश्य निराशाजनक बन्दै गएकोले महासंघको आसन्न नेतृत्वले राज्यलाई यो समस्याबाट उकास्नलाई महत्वपूर्ण भूमिका निभाउन घचघच्याउने उम्मेदवारहरुले दाबी गरेका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले देशको अर्थतन्त्र डुब्न लागेको टाइटानिक जहाज जस्तै रहेकोले त्यसलाई उकास्न आफू कप्तान भएर उत्रिने उद्घोष गरेका छन्। आफ्नो समूहको उम्मेदवारी दर्ता गर्न पुगेका श्रेष्ठले उक्त दाबी गरेका हुन्।
‘देश अस्थिर छ। आर्थिकरुपमा हामी खस्किएका छौं। हामी केही क्षणमा डुब्न लागेको टाइटानिक जहाज जस्तो अवस्थामा छौं। त्यो जहाजलाई कप्तानी दिन्छु भनेर यहाँ आएको छु। मेरो अठोट छ, मेरो प्रण छ, म बिना स्वार्थ तरिकाले तपाईंको भविष्यको लागि लड्दै छु। देशको डरलाग्दो आर्थिक अवस्था छ, त्यसलाई सुधार गर्नेमा मेरो प्रयास रहने छ,’ श्रेष्ठले भने, ‘प्रयास किन भन्छु भने हामी लबिइङ संस्था हो, कार्यकारी संस्था होइन।’
श्रेष्ठको समूहबाट एसोसियटतर्फको उपाध्यक्षमा भरत राज आचार्य, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल, र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। आचार्य भने वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी अञ्जन श्रेष्ठको समूहका पनि एसोसियट उपाध्यक्षका प्रत्यक्षी हुन्। आचार्य दुवै समूहका साझा उम्मेदवार हुन्।
अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको सोच र सरकार र निजी क्षेत्रको हातेमालोको जरुरी देखिन्छः संघाई
वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याक्षी रामचन्द्र संघाई भने अर्थतन्मा देखिएको समस्या समाधान गर्न सरकारले निजी क्षेत्रमैत्री सोच राख्नुपर्ने बताउँछन्। त्यस्तै, निजी क्षेत्र र सरकार हातेमालो गरेर अघि बढे अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने संघाईले दाबी गरे।
‘यतिखेर मुलुकको अर्थतन्त्र चलयमान बन्न नसकेको र सुस्ताएको अवस्था छ। अर्थतन्त्रको समग्र सूचकहरु पनि राम्रो देखिँदैन। लगानीका लागि पुँजीको अभाव छ। व्यवसायीमा उत्साह देखिँदैन। कुनै पनि अर्थतन्त्रमा जब शिथिलता आउँछ, त्यो एकैपटक ह्वात्तै बढ्ने अवस्था हुँदैन। विस्तारै सुधार हुँदै जान्छ। हाम्रो अवस्था पनि त्यस्तै छ विस्तारै सुध्रिँदै गएको छ,’ संघाईले भने, ‘अर्थतन्त्र चौपट्टै हुन लाग्यो, गरि खान दिएन, लगानीको अवसरै भएन जस्ता नकारात्मक कुरामा अल्झिनुभन्दा अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको सकारात्मक सोचका साथै सरकार र नीजी क्षेत्रको हातेमालोको जरुरी देखिन्छ।’
संघई महासंघको वर्तमान समितिका एसोसियट उपाध्यक्ष हुन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका संघाईको समूहबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत तर्फको उपाध्यक्षमा सकुन्तलाल हिराचन र एसोसियट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन्।
यस्तै, संघाई समूह आफ्नो समूहले उद्योग व्यावसायको सर्वाङ्गिण विकासका लागि उम्मेदवारी दिएको बताउँछ। ‘हाम्रो मुख्य नारा संगठनात्मक सुधार र समन्वय, कानुन तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधारका विषयहरु रहेका छन्,’ संघाई समूहले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ।
समस्या ग्रस्त अर्थतन्त्रमा हाम्रो उम्मेदवारी त्यसको उत्थानका लागि होः अन्जन श्रेष्ठ
यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अन्जन श्रेष्ठ समस्या ग्रस्त अर्थतन्त्रलाई उत्थान गर्न आफ्नो उम्मेदवारी रहेको बताउँछन्।
‘अर्थतन्त्र एकदमै समस्या ग्रस्त छ। बजार सुनसान छ। रोजगारी कटौती भइरहेको छ। यस्तो अवस्थामा निर्वाचन भइरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘उल्लेखित समस्या समाधानका लागि हामी हाम्रो साधराणसभा लगत्तै लाग्ने छौं।’ यस्तै, जनसंख्याको पछिल्लो तथ्यांकहरु निराशाजनक रहेकोले त्यसलाई सम्बोधन गर्न आफ्नो समूह निर्वाचित भएको अर्को दिनबाट लाग्ने श्रेष्ठको दाबी छ।
‘पछिल्लो जनसंख्यको विवरण अनुसार करिब २९ प्रतिशत जानसंख्या निष्कृय रहेको उल्लेख छ। यसले के देखाउँछ भने हाम्रो उद्योग युवा मैत्री छैन। त्यसमाथि पछिल्लो तथ्यांक अनुसार निजी क्षेत्रको अर्थतन्त्रमा ८० प्रतिशत योगदान रहेको छ। यस्तो अवस्थामा अब आउने नेतृत्वको थप चुनौती र जिम्मेवारी ज्यादा छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसैलाई मध्यनजर गरेर हामी युवाहरुको टिम बनाएर निर्वाचनमा होमिएका छौं।’
यो समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगतर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, एशोसियट तर्फको उपाध्यक्षमा भरतराज आचार्यको उम्मेदवारी रहेको छ। आचार्य उमेशलाल श्रेष्ठको समूहको पनि उपाध्यक्ष रहेका छन्।
दुई श्रेष्ठबीच पुनः प्रतिस्पर्धा
यस अघि ५४ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको थियो। उक्त साधारण सभामा वर्तमान वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ आमुने सामुने भएका थिए। उनीहरुको प्रतिस्पर्धा वस्तुगत तर्फको उपाध्यक्षका लागि रहेको थियो। उक्त प्रतिस्पर्धामा उमेशलाल पराजित बन्न पुगेका थिए। उनलाई ३७ मत प्राप्त भएको थियो भने अन्जनलाई ६२ मत प्राप्त गर्दै जित हाँसिल गरेका थिए।
वर्तमान कमिटीमा अन्जन वस्तुगततर्फको उपाध्यक्ष हुन् भने रामचन्द्र एसोसियट तर्फका उपाध्यक्ष हुन्। एउटै कमिटीमा रहेर काम गरिसकेका यी दुईबीच अब एउटा पदका लागि प्रतिस्पर्धा हुँदैछ। तर, प्रतिस्पर्धाको रेसमा भने ३ जना रहेकाले यी दुवै ‘रिङ्’ बाट आउट पनि हुनसक्छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments