ओइलिएर झर्न लागेका गुराँसका फूल र हरिया पात मात्र देखे आन्तरिक पर्यटकले

- चैत्र २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
म्याग्दी ।

चारैतिर घना जंगलको बिचमा रहेको विशाल चट्टान बेलढुंगामा उक्लिएर नजर लगाउँदा राताम्य फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिवेला। तर यो वर्ष चैतको अन्तिम सातामा बेलढुंगा पुग्दा ओइलिएर झर्न लागेका गुराँसका फूल र हरिया पात मात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले ।
लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत–वैशाख हो। लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने म्याग्दीका वन जंगलमा यतिवेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ। समुद्री सतहदेखि दुई हजार ६१४ मिटरको उचाइमा छ, म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुंगा।
म्याग्दीका जंगलमा चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेर अहिले झरेका छन्। त्यस्तै काफल, ऐसेलु, तिजु, वनमान्द्रो लगायतका जंगली फलफूल र कन्दमूल पनि पनि बेमौसममा नै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका बेनी नगरपालिका वडा नं ३ का वडासदस्य रत्न जिसीले बताए।

फागुनको मध्यतिरबाट कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नु पर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो संकेत नभएको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए।

विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएकोउनको भनाइ छ। आइतवार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुंगा पुगेका धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष बानियाँ सहितका आन्तरिक पर्यटकहरुले लालीगुराँसकै जंगलमा पुगेर पनि गुराँस देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए।

सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फुल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै पश्चिम र उत्तरी म्याग्दीका जङ्गलमा फुलेकोले चैतमै निख्रिसकेको स्थानीयवासी बताउँछन्। विगतमा लालीगुराँस फुलेपछि चैत–वैशाखमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्थ्यो।

‘लालीगुराँस फूल चैत–वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकाले फुल्नुपर्ने समयमा निख्रन थालेको हो’ ७१ वर्षीय डिलबहादुर सापकोटाले भने। लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको,जङ्गली फलफूल,कन्दमूल र अन्नबालीमा समेत यसको प्रभाव देखिएको भकिम्लीका स्थानीयवासी जसबहादुर पुनले बताए।

‘यो वर्ष पुस अन्तिम सातादेखि नै गुराँस फुल्न र काफल पाक्न सुरु ग¥यो’,वन तथा वातावरणका अध्येतावैकुण्ठ रेग्मीले भने ‘चैत–वैशाखमा फुल्नुपर्ने गुराँस पुस–माघमा फुल्नु,चैत सकिनै लाग्दा समेत उच्च हिमाली र लेकाली क्षेत्रमा हिउँ नपर्नु, कन्दमूल र जंगली फलफूल नासिँदै जानु, बाली पाक्ने समयमा परिवर्तन देखिनु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो। विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।’

उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन्। त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन्।

समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ ।

जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षा समयमा र नियमित नहुने, मौसमी फलफूल तथा तरकारीमा फेरबदल हुने, हिमगलन, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखा परेका वन र वातावरणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले बताए।

उनका अनुसार जलवायु परिवर्तनकै कारण महत्त्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन्। यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जंगलनै सुक्ने अवस्था आइरहेको छ। जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोग देखिएका छन्। जुन विश्वकै लागि एक प्रमुख चुनौतीको विषय हो।

यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्त्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको वन डिभिजन कार्यालय म्याग्दीका नि.प्रमुख चन्द्रमणि सापकोटाले बताए।

पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासमा घटबढ भएमा खासगरी जलवायु परिवर्तन हुने गरेको मौसमविज्ञ बताउँछन्।
हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुने गर्छ। जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमासमेत गम्भीर असर देखिन थालेका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर