चालकको अटेरीपनाले निम्त्याएको दुर्घटना
परिवारका साथ बिसु पर्व मनाउने उनीहरूको सपना बाटो मै हरायो
- चैत्र २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
बैतडी ।
वर्ष भरिको मेहिनेत र त्यहाँबाट प्राप्त भएको रकमले आफनो परिवारको चाहनालाई पूरा गर्ने उद्देश्यका साथ छिमेकी मुलुक भारत पस्नेहरुको लर्को प्राय जसो लामै हुने गरेको छ ।
चरम आर्थिक संकटबाट गुज्रिरहेको परिवारका लागि छिमेकी मुलुक भारतबाट हुने आम्दानीले ठूलै राहत महसुस गरिने गरिन्छ । यही राहतको खोजीमा भारत तर्फ लागेकहरुलाई आफनो जन्मथलोमा फर्किंदा आन्नदको सास फेर्ने गरेका हुन्छन् ।
यसरी पूर्ण रुपमा भारतको भूमीमा रोजगारी गरिरहेकाहरुलाई वर्ष दिनमा आउने विभिन्न स्थानिय पर्वले ठूलै महत्व राखेको हुन्छ । वर्ष दिनमा एक पटक भएपनि आफनो जन्मस्थानको माटोमा पाइल टेक्न पाउँदाको खुशीको बयान गर्ने कुनैै अक्षर नै नभएको बताउँछन् ।
यसरी हाँसीखेली गर्दै घर फर्किरहेकाहरु आक्समक एउटा ठूलै घटनाले सबै सपनालाई धुलोेमा मिटाइदिन्छ । हो यस्तै भयो मंगलबार राती ११ बजे । बिसु पर्वलाई धुमधामका मनाउने सोचका साथ घर फर्किरहेकाहरुको जीप एक्कासी ठूलो दुर्घटना पर्यो । जिपमा सवार ६ जनाको ज्यान नै गयो । भारतको पिथौरागढबाट मजदुरी गरेर आफनो गाँऊ फर्किरहेका एकै गाउँका ६ जनाको घटनास्थलमा नै मृत्यु भयो ।
जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नंको जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो ।
भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको उक्त जिपमा सवार सोही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । “क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जिप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ”, उनले भने।
भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए । झुलाघाटबाट बझाङ¬स्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए । बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।
सोही जिपमा सवार जयसिंह बोहराका अनुसार उनीसहित पाँच जना जिपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए । “सडक उकालो थियो, जिप ब्याक भएर भिरबाट खस्यो”, उनले भने, “जिप पछाडि पछाडी फर्किन थाल्यो, पछाडि सवार सबैले हामफाल्यौँ, जिप सोझै भिरमा खस्यो ।”
गत मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उनीहरूले गाउँमा भोट खसाले । त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो । निर्वाचनको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताए । उनले भने, “बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन ।”
राति ११ बजे उनीहरूले खोडपे बजारमा खाना खाएका थिए । खाना खाएर अगाडि बढेको केही समयमै जिप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा प¥यो। “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो”, जयसिंहले भने, “राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन ।”
दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ । पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताए ।
सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । यतिबेला घर बाहिर हुनेहरू पर्व मनाउन फर्किन्छन् । जिप सडकबाट पाँच सय मिटर तल खसेको छ । जिप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन् ।
दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ । शव भिरबाट निकाल्ने काम भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments