लुम्बिनी प्रदेशका चौथो नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

- बैशाख १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
दाङ ।

लुम्बिनी प्रदेशका चौथो नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसहित अन्य ३ जना विना विभागीय मन्त्रीले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा उनीहरूले शपथग्रहण गरेका हुन्। मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका थिए। उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

एमाले नेता मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो। नवनियुक्त मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र जनमत, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ५३ जना सांसदको समर्थन रहेको छ।

यस्तै, ३ जना विना विभागीय मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । जसमा दाङको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित माओवादी केन्द्र धनबहादुर मास्की, रूपन्देही निर्वाचन क्षेत्र ३ (१) बाट निर्वाचित लोसपाका सन्तोष कुमार पाण्डे र बर्दिया निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी छन्। प्रदेशका १० वटा मन्त्रालयहरू छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर