चन्दा जुटाएर खेलमैदान निर्माण
- बैशाख १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण भएको छ ।
घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा सङ्कलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएका हुन् । क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट रु १४ लाख ३० हजार अनुदान प्राप्त भएको खेलमैदान बनाउन समुदायस्तरबाट रु ३४ लाख ७७ हजार सहयोग जुटेको बताए ।
“खेतबारी र घरको आगँनमा खेलअभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौँ”, उनले भने, “गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटाएर खेलमैदान निर्माण भएको छ ।” खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटल खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभा समारोह आयोजना गर्न सहज भएको खेलाडी नवीन फगामीले बताए ।
घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले रु चार लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको चार रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फगामीले थप रु दुई लाख सहयोग गरेका छन् । उनीसहित स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले रु २७ लाख सहयोग गरेका छन् । गाउँका भूतपूर्व सैनिकले रु तीन लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय बनाएका छन् ।
गाउँपालिकाले प्याराफिट, घेराबार र स्टेज बनाउन रु १४ लाख ३० हजार सहयोग गरेको छ । अनुदान र चन्दाका अलावा एक सय घरधुरीको बसोबास रहेको घराम्दीका बासिन्दाले १०/१० दिनभन्दा बढीका दरले श्रमदान पनि गरेका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन रु सात लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए । उनका अनुसार यसअघि २०७८/७९ मा रु दुई लाख असी हजार, २०७७/७८ मा रु तीन लाख र २०७६/०७७ मा रु एक लाख सहयोग गरिएको थियो ।
“गाउँपालिकाको अनुदानको तुलनामा दोब्बर बढी चन्दा र श्रमदान जुटाएर घराम्दीवासीले जनसहभागिताको नमूना प्रस्तुत गरेका छन”, वडाध्यक्ष पुर्जाले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments