ठग्ने धन्दामा लागेका बादलका सुरक्षा सल्लाहकार रार्ई र कांग्रेस नेतृ कोइरालाको निकट दुलाल समूह प्रहरीको फन्दामा

- बैशाख १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थाल्दा १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै ठग्ने गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्र मन्त्री भएका बेला उनको सचिवालयमा कार्यरत थिए ।
प्रहरीका अनुसार दुलाल र भण्डारीको पूर्वगृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँग सम्बन्ध थियो । राई मंगलबार बिहान ललितपुरबाट पक्राउ परेका छन् ।
भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै विभिन्न व्यक्तिहरुसँग लाखौं असुली गरेको गिरोहबाट तत्कालीन आर्थिक लाभ लिएको पाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, राईले त्यसबेला पटक–पटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिएको खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘अन्य व्यक्तिको संलग्नताबारे उहाँको बयानपछि र थप अनुसन्धानपछि स्पष्ट होला ।’
‘दुई जनाले राईमार्फत भुटानी शरणार्थी सम्बन्धी गोप्य दस्तावेज र विवरण समेत पहिल्यै हात पारेको पाइएको छ’, प्रहरी स्रोत भन्छ, ‘यसमा संलग्न थप केही व्यक्तिको पनि खोजी भइरहेको छ ।’
प्रहरी स्रोतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालको मंसिरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर, अनुसन्धान अघि बढेको थिएन ।अख्तियारलाई बुझाएको निवेदनमा २०७६ असोज २ देखि फागुन २६ गतेसम्म तत्कालीन सुरक्षा सल्लाहकार राईले ५ करोड रुपैयाँभन्दा बढी बुझाएको भनिएको थियो ।
अधिकृतहरुका अनुसार त्यसबेला गिरोहले तत्कालीन गृहसचिव प्रेमकुमार राई, पछि महेश्वर न्यौपाने लगायतलाई पनि मिलाउनुपर्ने भन्दै रकम असुली गरेको थियो । त्यसबारे अनुसन्धान जारी रहेको प्रहरी स्रोत बताउँछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर