दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए
- बैशाख १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
दार्चुला ।
दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरो गएको छ । आज दिउँसो गएको हिमपहिरोले यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल पुरिएको छ । यार्सागुम्बा सङ्कलक बस्दै आएको त्रिपाल हिउँले पुरिएपछि केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले जानकारी दिए । उनको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली घटनास्थलतर्फ गएको छ ।
“हाम्रो टोली पुग्न अझै एक घण्टा लाग्छ, अनि मात्र घटनाको वास्तविकताबारे जानकारी हुन्छ”, हिमपहिरो गएको ठाउँमा जाँदै गरेका डिएसपी भट्टले भने । अक्सिजन अभावका कारण हिमपहिरो गएको ठाउँमा पुग्न समय लाग्ने उनको भनाइ थियो । हिमपहिरो गएको ठाउँमा यार्सागुम्बा सङ्कलक त्रिपाल हालेर बस्दै आएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए ।
“केही सङ्कलक दाउरा खोज्न गएका भन्ने खबर पाएका छौँ, उनीहरूले नै हिमपहिरोबारे खबर गरेपछि घटनाबारे थाहा पायौँ”, डिएसपी भट्टले भने, “यार्सागुम्बा सङ्कलक स्थानीय बाहेक अन्य जिल्लाका पनि रहेको सूचना प्राप्त भएको छ ।” खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको उनले बताए ।
सङ्कलक केही दिनअघि यार्सागुम्बा सङ्कलनका लागि लेकतर्फ उक्लिएका व्यास–१ का वडाध्यक्ष अशोक बोहराले बताए । “लगातार हिउँ परिरहेको थियो, सङ्कलन त्रिपालमुनि नै बस्दै आएका थिए, यार्सागुम्बा सङ्कलन गर्न जान सकिरहेका थिएनन”, उनले भने ।
व्यासस्थित सीतापुलबाट समेत प्रहरी टोली घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments