शिक्षा
एनजी आएको विषयमा मात्र परिक्षा दिन पाउने व्यवस्था
- बैशाख २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।
यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।
बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहो¥याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको बोर्डले जनाएको छ ।
दुई विषय भन्दा माथि विषयमा एनजी लाग्दा सोही कक्षामा दोहो¥याएर पढ्न अथवा सबै विषयको परीक्षा दिने गाह्रोले कतिपय विद्यार्थी पढ्न छोड्ने भएकोले कक्षा १२ पछिको ड्रप आउट रोक्नको लागि यो निर्णय गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।
उनले भने, ‘कक्षा १२ पछिको ड्रप आउट रोक्ने र समग्र शिक्षा प्रणालीलाई सहयोग होस् भनेर विद्यार्थी मैत्री, विद्यार्थीको सुविधालाई ध्यानमा राखेर निर्णय गरिएको हो ।’
पहिला नै पास गरिसकेको विषयमा फेरि पढेर परीक्षा दिनुपर्दा विद्यार्थीमा नैराश्यता छाउने र जुन विषयमा लागेको छ त्यहि विषयमा परीक्षा दिन पाउँदा विद्यार्थीमा सकारात्मक उत्प्रेरणा मिल्ने उनको भनाइ छ ।
निर्देशिकाको यो व्यवस्थाले शैक्षिक गुणस्तरमा असर नगर्ने उनको जिकिर छ । अरु राष्ट्रहरुको व्यवस्थाहरु पनि अध्ययन गर्दा यस्तै व्यवस्था भएकोले गर्दा नेपालमा पनि त्यो सुविधा दिने निर्णय भएको बताए ।
निर्देशिकाको दफा ७ (ङ) संशोधन गर्दै ‘नियमित तथा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले जुन जुन विषयमा ग्रेड प्राप्त गर्न नसकेको हो सोही सोही विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।
यो संशोधित निर्देशिका गत वर्षको विद्यार्थीहरुमा समेत लागू हुने भएको छ । जस अनुसार गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थीलाई सहज हुने भएको छ ।
गत वर्षका करिब ५८ हजार विद्यार्थीलाई पढ्ने उर्जा दिने र एनजी लागेको विषयमा मिहिनेत गरेर अब म पास हुन्छु भन्ने आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन्छन् भन्ने हाम्रो अपेक्षा छ ।’
यसले विद्यार्थीको आन्तरिक सक्षमता बढाउने जिकिर उनले गरे । बोर्डले वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments