विद्यार्थी संख्या कम
१९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा)
- बैशाख २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
त्रिशूली ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ । शैक्षिक सत्र २०७८/७९ मा निरन्तर विद्यार्थी संख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।
पालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक (भदौदेखि चैतसम्म) स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यालाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो ।
“विद्यालयले विद्यार्थी संख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो सङ्ख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइयो”, नगरप्रमुख गुरुङले बताए , “विद्यार्थी कम भएका विद्यालयले अनुगमनमा पुगेका कार्यदलका पदाधिकारीलाई घरमा चाडपर्व परेको, अभिभावक घरायसी काममा व्यस्त भएको लगायतका बहाना बनाए पनि परीक्षामा वास्तविक विद्यार्थी सहभागी हुने भएकाले अनुगमन र परीक्षामा सहभागी संख्याअनुसार न्यून पाइएको विद्यालयको माथिल्लो कक्षा अर्को व्यवस्था नभएसम्म घटुवा गरिएको हो ।”
कक्षा घटुवामा पर्नेमा आधारभूतसहित माध्यमिक तहको विद्यालयसम्म रहेका छन् । अधिकांश बालकक्षादेखि कक्षा १ सम्म पढाउन पाउने गरेर कक्षा घटुवा गरिएको छ ।
बेलकोटगढी–१२ मा रहेको चण्डीदेवी माविमा शैक्षिक सत्र २०७९ मा विद्यालयले एक सय १६ विद्यार्थी देखाए पनि नियमित उपस्थिति र परीक्षामा सहभागी विद्यार्थी ५१ जना मात्रै पाइएकाले उक्त विद्यालयलाई बालविकासदेखि कक्षा ३ सम्म अध्यापन गराउने भनेर कक्षा घटुवा गरिएको छ । सो विद्यालयसहित विभिन्न १९ विद्यालयले पेस गरेको तथ्याङ्कभन्दा अनुगमन र परीक्षामा सहभागी विद्यार्थी निकै न्यून रहेकाले बाध्य भएर कक्षा घटुवाको निर्णय गरिएको नगरउपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिए ।
कक्षा घटुवामा परेका विद्यालयले प्रत्येक कक्षामा न्यूनतम १५ जना विद्यार्थी पु¥याउन सकेमा उक्त निर्णय संशोधन तथा पुनः विचार गरिनेछ । “विद्यार्थी बढाएमा साबिकको कक्षा कायम गर्न सकिन्छ कि भनेर जारी रहेको भर्ना अभियानमा बालबालिका खोज्न व्यवस्थापन समिति र शिक्षक सक्रिय भएर लागिरहेका छन”, उपप्रमुख दाहालले भने ।
बेलकोटगढी नगरपालिकाभित्र हाल १९ माध्यमिकसहित ५४ सामुदायिक विद्यालय सञ्चालित छन् । पालिकाको जनप्रतिनिधिले शिक्षाको गुणस्तर वृद्धिसहित विद्यार्थीलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने, स्थानीय पाठ्यक्रम लागू गर्ने, सीप तथा क्षमतासहितको प्राविधिक शिक्षालाई जोड दिने नीति अवलम्बनलाई प्राथमिकता दिँदै आएको बताएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments