एक सातादेखि फरार रहेका पार्टी सचिव रायमाझीले पनि अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुपर्छ : प्रमुख सचेतक गिरी
- बैशाख २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सरकारले पूर्वाग्रह साधेको निष्कर्ष निकालेको छ । पार्टी सचिव टोपबहादुर रायमाझीलाई यो प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ पुर्जी जारी गरिएपछि एमालेले अरू भ्रष्टाचारका मुद्दामा पनि छानबिनको माग राखेको छ ।
एमालेको मागलाई सत्तारुढ सांसदहरूले नक्कली शरणार्थी प्रकरण विषयान्तर गर्ने प्रयास भएको तर्क गरेका छन् । तर एमालेका प्रमुख सचेतक पदम गिरी भने यो प्रकरण विषयान्तर गर्न नभई कोही पनि दोषी जोगाउने प्रयास नहोस् भन्ने आवाज उठाएको बताउँछन् ।
एक सातादेखि फरार रहेका पार्टी सचिव रायमाझीले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने प्रमुख सचेतक गिरी बताउँछन् । ‘प्रहरीको सम्पर्कमा आएर उहाँ (टोपबहादुर) ले अनुसन्धानको प्रक्रियालाई सहयोग गर्नुपर्छ ।
जुनसुकै बहानामा हुने भ्रष्टाचार र अनियमितताका प्रश्नमा जिरो टोलेरेन्सको नीति लिन्छौं । किनकि आज देशको अर्थतन्त्र जुन अवस्थामा छ त्यसको मूल कारण भ्रष्टाचार हो ।
भ्रष्टाचार विरुद्ध हामी सबै मिलेर नबोल्ने, निर्मम र कठोर नहुने हो भने यो निमिट्यान्न हुनेवाला छैन । भ्रष्टाचार रहँदासम्म आर्थिक, सामाजिक र अरू कुनै क्षेत्रमा पनि विकास अगाडि बढ्न सक्ने अवस्था छैन ।
नक्कली भुटानी शरणार्थीको विषयलाई लिएर एमालेका राष्ट्रिय सभा सदस्य पार्वती रावलले गत भदौ २१ गते बोेलीने, छानबिन होस् । धेरै ठूलो घोटाला र अनियमितता भएको छ । यसको छानबिन हुनुपर्छ भनेर उहाँले बोल्नुभएकै हो । तर सरकारले यो विषयमा खोजी र अनुसन्धान गरेन ।
जुनसुकै व्यक्ति, जुनसुकै ओहोदाको होस् । जुनसुकै रङ र समुदायको होस् । यस्ता फ्रड कामहरू हुन्छन् भने अनुसन्धान हुनुपर्छ ।
यो प्रकरण नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा बदनाम बनाउने काम हो । मुलुकका मन्त्री, सचिवहरू समेत संलग्न भएर दलालहरूसँग मिलेर नक्कली शरणार्थी बनाएर विदेश पठाउने भन्ने सामान्य विषय होइन । यसको निर्ममताका साथ खोजी हुनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ ।
यो प्रकरणमा को दोषी हो वा होइन भन्ने विषय अनुसन्धानपछि पत्ता लाग्ने कुरा हो । तर हाम्रोमा कहिलेकाहीं यस्तो हतारो भइदिन्छ, केही प्रसंगवश अभियुक्तले एक जनाको नाम लिइदियो भने त्यो पनि अपराधी हो भनेझैं गरी झम्टिन पुग्छौं । त्यस्तो पनि गलत हो ।
केही आशंका जन्माउने काम प्रधानमन्त्रीको अभिव्यक्तिले दियो । प्रधानमन्त्रीले भन्नुभयो, यो ट्रेलर मात्रै हो, पूरा फिल्म आउन बाँकी छ । हामीलाई सडकमा पु¥यायौं भन्नेहरूलाई एक–एक गरेर छानी–छानी कारबाही गर्छौं भनेर प्रधानमन्त्री स्वयंले बोल्नुहुन्छ ।
कारबाही त कानुनले गर्ने होला नि ! कारबाही गर्ने भनेर कानुन हातमा लिने अधिकार प्रधानमन्त्रीलाई छ ? यसले सरकारले पूर्वाग्रह साध्न खोजेको देखिन्छ । तर, यसको मतलब टोपबहादुर रायमाझी दोषी हो कि होइन भन्ने कुरामा निष्पक्ष ढंगले अनुसन्धान होस् । दोषी हो भने कसैले पनि उन्मुक्ति पाउनुभएन, कारबाहीको दायरामा आउनुप¥यो । प्रष्ट कुरा यही हो ।
आजको दुनियाँमा एमालेले लुकाएर लुक्छ । सारा प्रहरी, प्रशासन, संयन्त्र राज्य छैन ? उसले खोज्ने होइन ? यो राज्यको दायित्व होइन ? एमालेले खोजिदिने हो र ? राज्यले गर्नुपर्ने काम गर्नुप¥यो । उहाँ (टोपबहादुर)ले पनि अनुसन्धानलाई सहयोग पु¥याउनु नै राम्रो हुन्छ ।
मेरो अन्तरमनबाट आएका कुरा हुन्, देशको ठूलो समस्या भ्रष्टाचार हो, कुशासन हो । त्यही कारण देश यो हालतमा पुगेको हो । भ्रष्टाचारीलाई कारबाहीको दायरामा नल्याउँदासम्म देश बन्दैन । भ्रष्टाचारको प्रवृत्ति मौलाएको मौलाएकै छ, त्यसविरुद्ध जेहाद नै छेड्नुपर्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments