नक्कली शरणार्थी प्रकरण
भाग्ने डर : खाँणलाई पक्रिन ‘जरुरी पक्राउ पूर्जी’
- बैशाख २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर स्रोतले बताएको छ । खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ ।
खाँण निकट स्रोतका अनुसार बुधबार बिहानसम्म प्रहरी पक्राउ गर्न आउला भन्ने उनलाई छनक थिएन । ‘नियमित काममै हुनुहुन्थ्यो, परिस्थिति सहज भएपछि यस विषयमा बाहिर बताउने तयारी थियो’, ‘तर, एक्कासी प्रहरी बिहान आइपुग्यो ।’ त्यसपछि हडबडाएका खाँणले आश्चर्य जनाएका प्रहरी स्रोत बताउँछ । त्यसक्रममा प्रहरीले ‘केही विषयमा सोधपुछ गर्न’ भन्दै टेकु जानुपर्ने बताएको थियो ।
बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए ।
आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा भनेका छन् । खाँणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली खटिएको थियो ।
खाँण पक्राउ गरेलगत्तै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले जरुरी पूर्जी थमाएको थियो । दुवै जनालाई बुधबार जिल्ला अदालत, काठमाडौं उपस्थित गराउने प्रहरी तयारी छ । ‘अदालत लगेर हिरासतमा राख्न अनुमति लिन्छौं’, जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकृतले भने ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो । यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए ।
यही प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments