खाँणकी पत्नी मञ्जुले रकम बुझेको प्रहरीको आशंका : पन्थी कार्यदलको प्रतिवेदन गृह मन्त्रालयबाटै गायब

- बैशाख २७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ठगी गर्ने गिरोहले बनाएको फर्जी प्रतिवेदनको हार्डकपी मन्त्रालयमा भेटिएको छ, जसमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइदिन्छु भन्दै अमेरिका पठाउने गिरोहले रकम उठाएकाहरुको नाम समावेश छ ।
तर रामबहादुर थापा बादल गृहमन्त्री भएको बेला पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको हार्डकपी मन्त्रालयमा छैन् ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको पन्थी कार्यदलको प्रतिवेदन गृह मन्त्रालयबाटै गायब बनाइएको छ ।
भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान गर्न भन्दै गृह मन्त्रालयले ३० जेठ २०७६ मा पन्थीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले २०७६ कात्तिकमा तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ बुझाएको थियो ।
पन्थी नेतृत्वको कार्यदलसमक्ष ८७५ जनाले शरणार्थी गणनामा छुटेको भन्दै निवेदन दिएका थिए । तर कार्यदलले प्रमाण नभेटिएको भन्दै उनीहरुको नाम समावेश गर्न अस्वीकृत ग¥यो । कार्यदलले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) र जिल्ला प्रशासन कार्यालय, झापामा रहेको शरणार्थी समन्वय इकाई (आरसीयू) ले पहिचान गरेको ४२९ जनाको नाम अनुसूची ७ मा राखेको थियो ।
गृहमन्त्रीस्तरीय निर्णयबाट २७ जेठ २०७९ मा पूर्वसहसचिव पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि पुनर्विचार गर्न भन्दै उपसचिवको नेतृत्वमा अर्को समिति बनेको पाइएको हो । मन्त्रालयबाट त्यसबारे जिल्ला प्रशासन कार्यालय, झापामा पत्र पुगेलगत्तै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले भदौ मसान्तभित्र प्रतिवेदन बुझाउन भन्दै ताकेता गरेको पनि खुल्न आएको छ ।
सन् २०१६ बाटै पुनर्वास कार्यक्रम बन्द भएको भन्दै आफैं बेलडाँगीस्थित शरणार्थी शिविरमा पुगेर जानकारी गराइएको थियो । समितिलाई पटक–पटक प्रतिवेदन बुझाउन ताकेता गरिए पनि त्यत्तिकै छाडिएको पाइएकोे छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेल पनि भन्छन्, ‘त्यसबेला प्रतिवेदनलाई आधार बनाएर फेरि काम गर्न भनिएको थियो, त्यो पनि आएको थिएन । फेरि विभिन्न स्वार्थका कुराहरु आएपछि समितिले काम गरेन ।’
त्यसका लागि तत्कालीन गृहसचिव पाण्डे र आफ्नो स्वकीय सचिव नरेन्द्र केसीमार्फत खाँणले रकम बुझेको अनुसन्धानका क्रममा खुलेको छ । ठगी गर्ने गिरोहका एक जना सदस्य सानु भण्डारीले पाण्डेमार्फत मात्रै १ करोड २५ लाख रुपैयाँ बुझाएको बयान दिएका छन् ।
खाँणकी पत्नी मञ्जुले समेत त्यसक्रममा रकम बुझेको हुनसक्ने प्रहरीको आशंका छ । ‘बयान दिनेहरुले उहाँलाई पनि रकम दिएको भनेका छन्, तर थप प्रमाणहरु फेला परिसकेका छैनन्’, प्रहरी अधिकृतहरु भन्छन् । प्रहरीसम्म पुगेको अडियो सम्वादमा पनि मञ्जु खाँणलाई रकम बुझाएको भनिएको छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
पाण्डेले बयानका क्रममा तत्कालीन गृहमन्त्री खाँणको समेत संलग्नता खुलाएका थिए । यो प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । दुवै जनाले शरणार्थी बनाइदिन्छु भन्दै नेपाली नागरिकबाट पैसा उठाएको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर