अन्याय भयो
खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरुलाई छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने : एमाले अध्यक्ष ओली

- बैशाख २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल कम्युष्टि पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा २०७९ जेठमै तत्कालिन सरकार र प्रहरी नेतृत्वले सामसुम पार्ने प्रयास गरेको आरोप पनि लगाए । पीडितहरुले २०७९ जेठ ३० मा प्रहरीमा उजुरी दिएको र आरोपितको बयान सुनेपछि छाडिएको पनि उनले जिकिर गरे ।
अध्यक्ष ओलीले त्यतिबेला पीडितको पैसा फिर्ता गरेर घटना सामसुम पार्ने प्रयास गरे पनि पीडितहरु धेरै भएकाले लुकाउन सम्भव नभएपछि मात्र अहिले पुनः यो घटना बाहिर आएको दाबी गरे ।
ओलीले जेठ ३० गते परेको उजुरीको आधारमा पक्राउ परेका व्यक्ति छाड्नुमा तत्कालिन गृहमन्त्री, तत्कालिन प्रहरी प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपीमाथि प्रश्न उठाएका छन् ।
‘एउटा गजबको कुरो । गएको जेठ ३० गते धेरै उजुरी परे यस सम्बन्धमा । हामी ठगियौं, हामीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर यति यति पैसा हामीसँग लिइयो भनेर निवेदन प¥यो प्रहरीमा । निवेदन परेपछि मान्छेहरु पक्राउ परे । जो मान्छे हुन् खास मान्छे पक्राउ परे । तर त्यसबेला अनुसन्धान महाशाखामा एसएसपी को थियो, कसले छोड्यो ? त्यसबेला आईजीपी थियो, कसले छोड्यो ? कसको आदेशमा आईजीपीले छोड्यो ?’ ओलीले प्रश्न गरे ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ९ सय ७५ जनासँग पैसा लिएको र पीडितहरु एक पछि अर्को प्रकट भएपछि घटना सामसुम पार्ने प्रयास असफल भएको ओलीले बताए । ओलीले यो घटनामा एमाले नभई तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारको दोष भएको आरोप लगाए ।
‘यो केस दबाउन खोजेको कसले हो ? एमाले सरकारले हो दबाउन खोजेको ? केपी ओली थियो प्रधानमन्त्री ? एमालेको गृहमन्त्री थियो अस्ति गएको जेठ ३० गते ?’ उनले प्रश्न गरे, ‘समातिएका मान्छेहरु साँठगाँठ गरेर कसले छोड्यो ? यसको छानबिन हुनुपर्दैन ? खोजीनीति हुनुपर्दैन ? कसले छोड्यो ? किन छोडियो ?’
एमाले अध्यक्ष ओलीले जेठ ३० मा परेको उजुरीका आधारमा पक्राउ परेकाहरुलाई कांग्रेस नेता आङटावा शेर्पाले प्रहरी नियन्त्रणमै भेटेको र त्यसपछि घटना मिलाउन खोजिएको आरोप लगाए ।

‘२०७० सालको संविधानसभा सदस्य आङटावा शेर्पा अभियुक्त थुनिएका ठाउँमा जानुभयो । प्रहरीले वेलकम ग¥यो । दोषीहरु दुई जना र आङटावालाई घण्टौंसम्म कुरा गर्न दियो र केस अर्कोतिर गयो’, ओलीले भने, ‘२०÷२२ दिन भइसकेको बयान रोकेर फेरि बयान गरियो ।’
पक्राउ परेका मान्छेहरुले सत्य कुरा भन्न थालेपछि प्रहरीले लिइसकेको वयान पनि थन्क्याएर मिलापत्र गराइएको ओलीले आरोप लगाए । ‘जेठ ३० मा निवेदन प¥यो असार १,२,३ गते मान्छेहरु पक्राउ परे होलान्, तर २ घण्टामा उनीहरुले त बोक्सी बकेजस्तो फररर सत्य कुरा भन्न थालेपछि चुपचुप लाग चुप लाग भनेर कागज थन्क्याएर मिलापत्र गराइयो’ ओलीले भने ।
यो काम तत्कालिन सरकारकै संरक्षणमा भएको भन्दै ओलीले भने, ‘धेरै फाइफुइँ गर्नेहरुले नगरे हुन्छ, हामीले नचिनेको मान्छे होइन, चिनेकै मान्छे हो ।’
यो प्रकरणमा नेपाली नागरिकलाई राज्यविहीन बनाउने, पैसा ठगी गर्ने अपराध राज्य संयन्त्र र राजनीतिक व्यक्तिकै संलग्नतामा भएको भन्दै ओलीले प्रहरीले निष्पक्ष छानबिन गर्नपर्ने बताए । ‘अहिले छानबिन गरिरहेको प्रहरी संयन्त्रलाई निष्पक्ष ढंगबाट दृढताका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु’ उनले भने ।
ओलीले यो प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझीको नाम जोडिँदा आश्चर्यचकित परेको बताए । ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’

उनले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकामा आशंकासमेत गरे । ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरुलाई छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन ग¥यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’
टोपबहादुर सम्पर्कविहीन बस्नु बेठीक भएको भन्दै ओलीले प्रहरीले अभद्र व्यवहार गर्न खोजेकाले अदालतमा उपस्थित हुने विचार गरेको जानकारी पाएको बताए । ‘तर आरोपबाट तर्किने हो भने, भाग्न खोज्ने हो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्याइको सामना गर्नुपर्छ । दोषी भए कारबाही भोग्नुपर्छ । दोषी नभए आत्तिनुपर्दैन’ उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर