युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमाको जित

- बैशाख २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमाले जित निकाल्न सफल हुँदा अर्काे इटालियन क्लब युभेन्ट्स हारबाट जोगिएको छ ।

रोमाले जर्मन क्लब बायर लिभरकुसनलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा रोमाको जितमा दोस्रो हाफमा इडुएर्डाे बोभले गरेको गोल नै निर्णायक बन्यो । स्टेडियो ओलम्पिको रोमामा बिहीबार राति भएको खेलमा इडुएर्डाेले ६३औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

घरेलु टोली रोमाले दवाव झेलेपनि आँफुले लिएको अग्रतालाई जोगाएर पहिलो लेगमा सफलता प्राप्त गर्न सफल भयो । बायर लिभरकुसनका प्रशिक्षक जाभी अलन्सो आफ्नो पुर्व प्रशिक्षक जोसे मौरिन्होविरुद्ध टच लाइनमा रहँदा जित निकाल्न भने सफल भएन ।

जाभीले मौरिन्होकै प्रशिक्षणमा स्पेनिस क्लब रियल म्याड्रिडबाट सन् २०१० देखि २०१३ सम्म १५१ खेल खेलेका थिए । तर, टचलाइनमा उनले आफ्नो पुर्व प्रशिक्षकलाई जित्न सकेन । अब दोस्रो लेग लिभरकुसनको मैदानमा १८ मेमा हुनेछ । रोमालाई यही नतिजा फाइनल पुग्न पर्याप्त रहँदा लिभरकुसनलाई कम्तीमा २–० को जितको खाँचो छ ।

यस्तै अर्काे सेमिफाइनलमा इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा फेडरिको गट्टीले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएको छ । युभेन्ट्सले स्पेनिस क्लब सेभियासँग १–१ गोलको बराबरी खेलेको हो ।

एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा सेभियाका युसेफ एन न्यास्रीले २६औं मिनेटमा गोल गर्न सफल भएपनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो । अब दोस्रो लेगमा जित निकाल्ने टोली फाइनलमा पुग्नेछ । दोस्रो लेग सेभियाको मैदानमा १८ मेमा हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर