गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ

- बैशाख २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
कास्की ।

गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार चार मन्त्री नियुक्त गरेका हुन । नेपाली कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा तनहुँका जीतप्रकाश आले, कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नवलपुरका महेन्द्रध्वज जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बागलुङका दीपेन्द्रबहादुर थापा नियुक्त भएका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त भएका हुन् । विना विभागीयमन्त्रीका रुपमा पहिले नै शपथ लिइसेकी कांग्रेसकी सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी र माओवादी केन्द्रका सुशीला सिम्खडाले सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

नवनियुक्त मन्त्रीहरुले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्य विभाजन हेरफेर गरेको थियो ।

नयाँ कार्य विभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।

कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपन्छी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै बनाइएको हो ।

आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत् कायम छन् । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले वैशाख २१ मा विश्वासको मतसमेत पाइसकेका छन् ।

साठी सदस्यीय प्रदेशसभामा उनीलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एस)का एक गरी ३५ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । प्रदेशसभामा २२ सिट रहेको नेकपा (एमाले) र दुई सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रतिपक्षी भूमिकामा पुगेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर