रायमाझीलाई पिछा गर्दै प्रहरी
नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझी भारतमा भएको संका

- बैशाख ३१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा नाम जोडिएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री रहेका सांसद टोपबहादुर रायमाझीको खोजी गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली भारततर्फ पुगेको छ ।
अहिले सम्म कुनै सुराक फेला पार्न नसकेको प्रहरी स्रोतले बतायो । रायमाझी भैरहवाबाट काठमाडौं आउन लागेका बेला वैशाख २० गते रातिबाट सम्पर्कबिहीन भएका थिए। त्यसपछि उनी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। रायमाझी सुरुमा लखनउ र गोरखपुर बसेको र पछि दिल्ली पुगेको सूचना पाएपछि सीआईबीको टोली भारत पुगेको हो।

भारतीय दूतावासमार्फत् रायमाझीलाई काठमाडौं ल्याउन सहयोग गर्दै प्रहरी भारत पुगे पनि उनी अहिलेसम्म फेला पर्न सकेका छैनन्। सीआईबीका एक अधिकारी भन्छन्, ‘भारतमा रहेको सूचना पाएपछि हाम्रो टोली भारत गएको हो। तर अहिलेसम्म कुनै प्रगति भएको छैन।’

वैशाख २० गते अर्घाखाँचीको कार्यक्रम सकेर उनी त्यसै दिन राति काठमाडौं आउने तयारीमा थिए। सोही अनुसार उनले भैरहवाबाट काठमाडौं आउनका लागि हवाई टिकटसमेत काटेका थिए। तर उनी एकाएक सम्पर्कविहीन भए। राति ९ बजेको फ्लाइटमा काठमाडौं आउने टिकट भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली रायमाझीलाई पक्राउ गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कक्षमा गएर बसेको थियो।
तर छोरा सन्दीप पक्राउ परेपछि उनी सम्पर्कविहीन भए। सम्पर्कविहीन भएका रायमाझीले पछि प्रहरी नेतृत्वसँग सम्पर्क गर्दै आफू प्रहरीसामू उपस्थित हुने बताएका थिए। रायमाझीले आफैं उपस्थित हुन्छु भनेपछि प्रहरीले तत्कालै पक्राउ गर्ने तदरुकता देखाएन। त्यसपछि फरार भएका उनी अहिलेसम्म फरार नै छन्। नेकपा एमालेले समेत उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरिसकेको छ।

यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका सहयोगी नरेन्द्र केसी, काठमाडौंको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका छन्।

यस्तै, एमाले नेता रायमाझीका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डे, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई गरी १२ जना अहिले हिरासतमा छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर