टीकापुर हत्याकाण्ड
जन्मकैदको फैसला विरुध्द पाँच दिने नेपाल बन्दको घोषणा

- जेष्ठ ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सर्वोच्च अदालतले यसअघि तल्लो तहका अदालतबाट भएका जन्मकैदको फैसलालाई सदर गरेपछि रेशम चौधरीको समर्थनमा नेपाल बन्दको घोषणा गरिएको छ । उनी संरक्षक र श्रीमती तथा मन्त्री रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले विहिबार देखि तीन दिन राँके जुलुस र त्यसपछि पाँच दिने नेपाल बन्दको घोषणा गरेको छ ।

सरकारलाई तीन दिनको अल्टिमेटम दिएको र उक्त समयभित्र माग पूरा नभए सशक्त आन्दोलन गर्न लागिएको बताइएको छ । जसअनुसार विहिबार देखि शुक्रबारसम्म देशव्यापी मसाल जुलुस हुनेछ ।शुक्रबारसम्म माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर शनिबारदेखि बुधबारसम्म नेपाल बन्द हुने भनिएको छ ।

टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका चौधरीलाई सर्वोच्च अदालतले हिजो सफाइ दिन अस्वीकार गरेपछि उक्त कार्यक्रम घोषणा गरिएको हो । जन्मकैदको फैसलाविरुध्द उनले सर्वोच्चमा पुनरावेदन दिएका थिए ।

तर सर्वोच्चले यसअघि कैलाली जिल्ला र दिपायल उच्च अदालतले गरेको फैसलालाई नै सदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई सफाइ नदिने फैसला सुनाएको थियो ।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय गरेको थियो । त्यसपछि उच्च अदालतमा पुनरावेदन गएका चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर भएको थियो ।

उनीविरुद्ध २०७२ भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र एक शिशुसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर