हिन्दु राष्ट्र घोषणा गर्न माओवादी नेताको माग, प्रधानमन्त्री दाहाललाई बुझाए ज्ञापनपत्र

- जेष्ठ ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्न माग गरेका छन् । पार्टी सदस्यसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार बालुवाटारमा १८ बुँदे ज्ञापनपत्र बुझाउँदै संविधानसभा सदस्य शर्माले धर्मनिरपेक्ष वा हिन्दू राष्ट्रबारे जनमत संग्रहको माग गरेका हुन् ।

‘राष्ट्रिय विवाद र बहसको रूपमा देखापरेको एक प्रमुख मुद्दा धर्मनिरपेक्ष वा हिन्दु राष्ट्रबारे जनमत संग्रहमार्फत निर्णय गरी देशलाई दीर्घकाल शान्तिको दिशामा लगियोस्’ शर्मा र पूर्वसांसद इन्दु शर्माले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रचण्डले अरु विषयमा सर्मथन जनाए पनि जनमत संग्रहको मागमा भने असहमति जनाएको शर्माले बताए । ‘हिजो मैले अध्यक्षलाई यो दिँदा अरु सबै कुरामा सकारात्मक नै देखिनुभयो’, शर्माले भने, ‘हिन्दु राष्ट्रको कुरामा अहिले बेला भएको छैन भन्ने उनको भनाइ थियो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दु राष्ट्रकै बिषय उठाएर ठूलो बनेको भन्दै उनले जनमतसंग्रह गरेर यो बिषय टुंगो लगाउनुपर्ने धारणा राखे । ‘परिवर्तनकारी पार्टीहरु बलियो भएकै बेलामा छिनोफानो गरिदिएको राम्रो’, शर्माले भने, ‘यो विषयको आवरणमा त पार्टी बन्दै छ । राजनीति बन्दै छ । जनमत बन्दै छ । अहिले तपाईंहरुले संसद भवनमा हेरिराख्नु भएको छ, राप्रपाको ‘भ्वाइस’ कति बलियो गरी आइरहेको छ । ऊ एक प्रकारले लोकप्रिय हुँदै गइरहेको छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर