आठ सय वर्ष पुरानो ‘तिजी’ पर्व मनाइयो
- जेष्ठ ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
मुस्ताङ ।
मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पहिलेदेखि सुरु भएको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व ‘तिजी’ मनाइएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा मङ्गलबारदेखि सुरु भएको तिजी पर्व बिहीबार सकिएको हो । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पद्मसम्वाको तस्बिर अङ्कित थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालिएको थियो ।
उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए । यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखिया प्रथालाई मान्यता दिँदै आएका छन् । राजाका लामा बसेका बाहेकका सन्तान दिवङ्गत भएपछि अनिष्ठ नहोस् भनेर तिजी पूजा गर्ने परम्परा बसालेका इतिहास छ ।
दुई तले घर बराबरको उचाइ भएको थाङ्का तिजी पर्वमा मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दशवटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथिदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् ।
तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य छेवाङ रिङजिङ गुरुङले बताए । “दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आए”, उनले भने, “तिजी पर्व संस्कृति र परम्परामात्र नभएर पर्यटक भ्यियाउने माध्यम पनि बनेको छ ।”
लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरूको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाइएको बताए । “प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गरेका छौँ”, उनले भने, “पहिलो दिन जमिनका देवी–देवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र राक्षसलाई लखेटेको अभिनय लामाहरूले नृत्यमार्फत देखाएर पर्वको समापन गरिएको छ ।”
तिजीमा लामाहरूले देखाइने नृत्य विशेष आकर्षण हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले तिजी पर्व अवलोकनका लागि आएका स्वदेशी र विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका बताए । माटोको पर्खालभित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments