के रिजाल अभियुक्त हुन् ?
भुटानको समस्यामा नयाँ प्रश्न उत्पन्न : को को परे फन्दामा ?

- जेष्ठ ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले नेपाली भूमीमा रहेका भुटानी शरणार्थीहरुको बिषयलाई लिएर नेपाली समाज देखी नेपाली राजनीतिक क्षेत्रमा निकै हलचल मच्चिएको छ । नेपालका उच्च पदस्थ व्यक्ति देखी लिएर पूर्व गृहमन्त्री सम्म नक्कली शरणार्थी प्रकरणमा मुछिन पुगेका छन् ।
यहि प्रकरणलाई लिएर नेपाल प्रहरीले भुटानको स्वतन्त्रताको आन्दोलनमा लागेका भुटानी नेता नेता टेकनाथ रिजाललाई पक्राउ गरेपछि अब भुटानको समस्यामा नयाँ प्रश्न उत्पन्न भएको छ । भुटानीहरुलाई आफनो देशमा फिर्ता पठाउनुपर्छ भन्ने आवाज उठाउने नेता रिजाल भुटानी शरणार्थीहरूका सर्वोच्च नेता मानिन्छ।
नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै उच्चपदस्थ राजनीतिक र प्रशासनमा रहेका व्यक्तिहरूको आडमा सङ्गठित गिरोहले चलाएको अभियानको अनुसन्धानको सिलसिलामा रिजाल बिहीवार पक्राउ परेका हुन्। उनको पक्राउलाई लिएर राजनीति देखी हरेक क्षेत्रमा एक प्रकारको हलचल मच्चिएको छ । रिजाललाई दुई दिनका लागि म्याद थप गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले बताए।

सन् १९८० को दशकमा भुटानी राजाको सल्लाहकार परिषद्का सदस्य रहेका उनी भुटानले ’एक देश एक भाषा’को नीति अँगालेपछि झन्डै एक लाख नेपालीभाषी भुटानीसँगै भारतको बाटो भएर नेपाल निर्वासनमा आएका थिए। सन् १९९३ देखि करिब एक दशक भुटानको जेलमा थुनिएका राजबन्दी रिजाललाई नेपालमा ठूलो हलचल मच्चाइरहेको शरणार्थी प्रकरणसँग जोडेर गिरफ्तारी गरिएपछि कैयौँ शरणार्थीका अगुवा तथा अधिकारकर्मीहरूले आश्चर्य प्रकट गरिरहेका छन्।
तर अहिलेसम्म प्रहरीले रिजाल यो प्रकरणमा कसरी जोडिए भन्नेबारे औपचारिक रूपमा केही पनि बताएको छैन।
रिजाल कुनै बेला भुटानको न्याश्नल एसेम्बलीका सदस्य थिए।
शरणार्थीका रूपमा आइसकेपछि नेपालबाट गिरफ्तार गरेर उनलाई भुटान पु¥याइएको थियो। उनले झन्डै एक दशक कठोर यातनासहित जेल जीवन बिताएका थिए । . रिहा भएर फेरि नेपाल आएपछि उनलाई जीवन निर्वाहका नेपाल सरकारले मासिक सुविधा उपलब्ध गराउँदै आएको छ। रिजालसहित कैयौँ भुटानी शरणार्थी नेताहरूले स्वदेश फिर्तीको लागि अभियान चलाएका थिए।

तर नेपाल र भुटानबीच १५ चरणसम्म भएका वार्ताले कुनै परिणाम नदिएपछि सन् २००७ मा अन्तर्राष्ट्रिय समुदायको साथ लिएर नेपालले अघि बढाएको तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत १,१३,००० भुटानी शरणार्थी अमेरिकासहित आठवटा देशमा गएका छन्। “भुटानले ’नेपालका गरिब अनि भारतबाट धपाइएका वा अलपत्र भएर गएका मानिसहरू शिविरमा बसेका हुन्’ भन्दै आएको थियो। हाम्रा मान्छे होइनन् भन्ने जुन आरोप लगाएको थियो अहिलेको परिस्थितिले भुटानलाई झन् सजिलो भयो।”

पछिल्ला गिरफ्तारीले अन्तर्राष्ट्रिय क्षेत्रमा भुटानले भन्दै आएको कुरालाई प्रमाणित गर्छ। भुटानले सधैँ केही शरणार्थी अपराधी छन् भन्ने गरेकोमा नेपालले कडा प्रतिवाद गर्ने गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा को को परे फन्दामा ?
४ जेठः शरणार्थी नेता टेकनाथ रिजाल र हज कमिटिका अध्यक्ष शमशेर मिया पक्राउ
१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित
३१ वैशाखः सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाखः पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप
२७ वैशाखः पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
२७ वैशाखः पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनी सचिव पदबाट निलम्बित
२० वैशाखः उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
२० वैशाखः रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ
२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउपुर्जी
१९ वैशाखः तात्कालिक उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
१२ चैतः नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर