‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी हुँदै
- जेष्ठ ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नवप्रवर्द्धनसँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान गर्दै आएको एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ ।
काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले आगामी जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा हुने प्रतियोगितामा सहभागी हुने रकेटको अनुसन्धान र विकासमा अनवरत खटिइरहेका युवा वैज्ञानिक पन्ध्र जनाको नामावली टुङ्गो लागेको जानकारी दिए ।
“हामी एक सय ३५ देशबाट छानिएर २४ मा परेका छौँ । नेपालीले पनि रकेट वा स्पेससम्बन्धी अध्ययन गरेर आफूलाई अब्बल साबित गराउन सफल भएका छौँ । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो”, अध्यक्ष जोशीले भन्नुभयो । उहाँले यो आयोजनामा रु ९० लाख खर्च भइसकेको जानकारी दिँदै आगामी यात्राका लागि आर्थिक अभाव भएको बताए ।
“हामीलाई अमेरिकासम्म पुग्न खर्च र भिसा लगायतको समस्या छ । यो प्रोजेक्टमा हामीले विभिन्न निकायबाट सहयोग पाउने प्रतिबद्धता पाए पनि सहयोग पाएका छैनौँ”, अध्यक्ष जोशीले भने । नेपालबाट प्रतिनिधित्व गरेर सहभागी हुने भएकाले यस विषयमा बृहत् रुपमा जानकारी गराउन जेठ ९ देखि १४ सम्म काठमाडौँस्थित सिबिएम कलेजमै ‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
आयोजना हुने प्रदर्शनी प्रोजेक्टका लागि सहयोगी हुने विश्वास सिबिएम कलेजका अध्यक्ष सुमन न्यौपानेले व्यक्त गरे । उनले भने, “प्रदर्शनीको उद्देश्य नै सहयोगी भावना बोकेकालाई जोड्ने हो । नेपाली वैज्ञानिकको रकेटसम्बन्धी खोज र अनुसन्धानलाई सहयोग र सहकार्यमा हामी झैँ अझैँ सङ्ख्या बढाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नेपाली वैज्ञानिकलाई प्रोत्साहित गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्दैछौँ ।”
उनले नवीन प्रविधिका क्षेत्रमा भइरहेका खोजअनुसन्धानलाई प्रवर्द्धन गर्दै नेपालको शिर उचो राख्ने नेपाली वैज्ञानिकको भावनालाई नेपाल सरकारले पनि आत्मसात् गर्नुपर्ने धारणा राखे ।
डा निकोलस भुसालले नेपालले अन्तरीक्षसम्बन्धी विषयमा ध्यान दिनु जरुरी रहेको बताए । “सहयोग नहुँदा हुँदै पनि भइरहेको विषयमा सरकारसँगै नेपालीले चासो दिनुहोस् भन्ने हाम्रो माग हो । नेपालमा विज्ञानको विषयमा धेरै काम गर्न सकिन्छ । यसलाई हाम्रो सहभागिताले पनि प्रस्ट्याएको छ”, डा भुसालले भने । उनले अन्तरीक्षसमबन्धी ऐन नै बनाएर युवालाई प्रोत्साहित गर्नसमेत आग्रह गरे ।
अन्तरीक्षसम्बन्धी अध्ययन अनुसन्धानमा सरकारले लगानी वृद्धि गर्नुपर्ने, यससम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, विश्वविद्यालयमा अध्ययनको वातावरण बनाउनुपर्ने तथा विभिन्न देशमा क्रियाशील अन्तरीक्षसम्बन्धी काम गर्ने संस्थासँग सहकार्यको वातावरण निर्माण गरिनु आवश्यक रहेको विषयमा कार्यक्रममा चर्चा भएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments