अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट सिधै मलेसिया

- जेष्ठ ९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

पूर्ण तयारी भएर पनि उडान विहिन बनेको नेपालको अन्तराष्ट्रिय विमानस्थलले यसै महिना देखी अन्तराष्ट्रिय उडान भर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान सुरु गर्ने वायु सेवा निगमका अधिकारीहरुले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रुपमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो समय उडान गर्दै आएको एउटा विदेशी विमान कम्पनीले उडान बन्द गरेपछि अहिले त्यहाँबाट अन्तर्राष्ट्रिय उडानहरू भरिएका थिएनन । निगम अधिकारीहरुका अनुसार हाललाई उक्त विमानस्थलमा मलेशियाबाट साताको एउटा उडान गरिनेछ र निकट भविष्यमै थप उडान हुने सम्भावना रहेको छ।
उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउन विभिन्न विमान कम्पनीहरूलाई आग्रह गरिए पनि धेरैले ‘व्यावसायिक रूपमा सफल हुने सम्भावना नरहेको’ भन्दै उडान नगरेको बताइने गरेको छ। वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले जेठ २९ गतेदेखि ‘काठमाडौं –क्वालालम्पुर–भैरहवा– काठमाडौं’ ‘सेक्टर’मा उडान गर्न लागेको हा े। त्यसका लागि टिकट बुकिङ खुला गरिसकिएको प्रवक्ता पौडेलले बताए ।
भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको सङ्ख्या बढाउँदै लाने योजनामा निगम रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगमले “विशेष पहल गरी” उडान सुरु गर्ने निर्णय गरिएको हो । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न ‘सटल बस’ सेवाको पनि व्यवस्था गर्ने भएको छ।

भाडा दर कति ?
‘काठमाडौं –क्वालालम्पुर–भैरहवा– काठमाडौं’ ‘सेक्टर’मा यात्रुलाई आकर्षित गर्नका लागि निगमले प्रवर्द्धनात्मक भाडा दिएको प्रवक्ता पौडेलले बताए।

प्रवक्ता पौडेलका अनुसार अहिले भैरहवा–क्वालालम्पुर उडान भने सुरु गरिने छैन। मलेशियाबाट काठमाडौं आएर पश्चिम नेपालतर्फ जानुपर्ने यात्रुलाई सजिलो होस् भनेर यो सेवा सुरु गरेको निगम बताउँछ । निगमले मलेशियाबाट भैरहवासम्मको एकतर्फी टिकटको मूल्य प्रतियात्रु १२ हजार ७ सय तोकेको उनले जानकारी दिए। त्यस्तै क्वालालम्पुर–भैरहवा–काठमाडौंका लागि भने १४ हजार २ सय रुपैयाँ प्रतियात्रु भाडा दर तोकेको छ।
काठमाडौं बाट मलेशिया जानेले भने बजारको चलनचल्तीकै भाडा तिर्नुपर्ने प्रवक्ता पौडेलको भनाई छ । नेपाल वायु सेवा निगमको वेबसाइटमा राखिएको भाडादर हेर्दा काठमाडौं बाट क्वालालम्पुरको एकतर्फी भाडा ४० हजार वा त्यसभन्दा बढी देखिन्छ। भैरहवा विमानस्थलबाट गत एप्रिल १९ तारिखमा अन्तिम अन्तर्राष्ट्रिय उडान भएको उक्त विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बताए।

कुवेतको जजीरा एअरवेजले अन्तिम अन्तर्राष्ट्रिय उडान गरेको थियो । हुस्सुका कारण उडान नगरेको जजीरा एअरवेजले त्यसपछि केही उडान गरेर फेरि बन्द गरेको थियो। जजीरा एअरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिनबाट अर्थात् गत वर्ष जेठ २ गतेदेखि सातामा तीनवटा उडान गर्दै आएको थियो।
त्यसबाहेक हिमालय एअरलाइन्सले डेढ महिनाजति त्यहाँबाट सिङ्गापुरका लागि उडान गरेको थियो। राष्ट्रिय ध्वजावाहक विमानले भैरहवामा उडान गर्ने भएपछि त्यसले सकारात्मक सन्देश जाने र थप कम्पनीहरू आकर्षित हुने आशा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर