नक्कली शरणार्थी प्रकरण : संकाको घेरामा प्रहरी प्रमुख कुँवर- हाइप्रोफाइलको संलग्नता पुष्टि हुने आधार डीएफएल

- जेष्ठ १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुवँरले उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको जिम्मेवारी लिएको केही समयपछि २०७९ जेठ १८ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै आफूहरुसँग पैसा उठाएर ठगी गरेको भन्दै केही पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।
८१ जना पीडितले दिएको उजुरीमा सानु भण्डारी, केशव दुलाल, टंक गरुङलगायतलाई प्रतिवादी बनाइएको थियो। उजुरीमा प्रतिवादी बनाइएकाहरुविरुद्ध २०७९ जेठ २८ काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भयो। त्यसपछि उनीहरु पक्राउ परे। तर पक्राउ परेको आधा घण्टा पनि हिरासतमा नबसी उनीहरु छुटे।
अहिले प्रहरी प्रमुख रहेका कुँवरले उजुरीसँग सम्बन्धित फाइलकलाई कार्वाहीको दायरामा नल्याई घरमा लगेर थन्क्याएको पाइएको छ । उक्त समयमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री थिए। भने टेकनारायण पाण्डे गृह सचिव। अपराध अनुसन्धान कार्यालयका त्यति बेलाका प्रहरी अधिकृतका अनुसार कुँवरले गृहमन्त्री र सचिवबाट दबाब आएको भन्दै पक्राउ परेकाहरुलाई छाडेका थिए।
नक्कली शरणार्थी प्रकरणका आरोपी छाडेको १ महिनापछि कुँवर एसएसपीबाट डीआईजीमा बढुवा भने एसएसपीमा रहँदा १३औं नम्बरमा रहेका कुँवर डीआईजी बढुवा हुँदा एकै चोटी पहिलो भएका थिए । कुँवर डीआईजीमा बढुवा भएसँगै २०७९ असार २२ गते अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी (हाल डीआईजी) जनकराज भट्टराईले पाए। कांग्रेसका नेताहरुकै जोडबलमा अपराध अनुसन्धान कार्यालयको प्रमुख बनेका भट्टराईले भुटानी शरणार्थी प्रकरणमा उजुरी छ कि छैन भनेर चासो नै दिएका थिएनन्।
भट्टराईले भने उजुरीबारे आफूलाई कुनै जानकारी नै नभएको जवाफ दिए। पीडितकर्ताले उजुरी दर्ता भएको नम्बर नै देखाएपछि भट्टराईले सम्बन्धित पिलरसँग सोधपुछ गरेका थिए। त्यसपछि उक्त फाइल खोज्दा कार्यालयमै भेटिएन।
फाइलबारे जानकार एक प्रहरी अधिकृतले भट्टराईलाई भनेका थिए, ‘फाइल बसन्त सापले लानुभएको छ।’ त्यसपछि भट्टराईले फाइलबारे जानकारी लिँदा कुँवरले आफूकहाँ फाइल नरहेको बताएका थिए। तर प्रहरी महाशाखाका तत्कालीन एक अधिकृतले कुँवरलाई ‘फाइल तपाईंसँगै छ। पछि अप्ठ्यारो पर्ला’ भनेर चेतावनी नै दिए।

फाइल मेरो घरमा छ। लिन पठाइदिनोस् भनेर प्रहरी प्रमुख कुँवरले भनेका थिए । घरबाट फाइल ल्याइएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले बताए । त्यसपछि भट्टराईको सरुवा भयो र अपराध अनुसन्धान कार्यालयको जिम्मा एसएसपी मनोज केसीले पाए। केसीले जिम्मेवारी सम्हालेपछि मात्रै शरणार्थी प्रकरणको अनुसन्धानले गति लियो।
‘सामसुम पार्न’ सक्रिय
प्रहरी अनुसन्धानबाट खुलेको तथ्यअनुसार हालका आईजी कुँवर शरणार्थी प्रकरणलाई सुरुबाटै ‘सामसुम पार्न’ सक्रिय भएको देखिन्छ। कुँवरको तत्कालीन गृहसचिव पाण्डे र गृहमन्त्री खाणसँग नियमित सम्पर्क हुने गरेको तथ्य पनि प्रहरी अनुसन्धानबाट फेला परेको छ। शरणार्थी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका तत्कालीन गृहसचिव पाण्डेको मोबाइलमा कुँवरको ‘शंकास्पद भूमिका’का तथ्यहरु भेटिएका छन्।
ठगी गिरोहका नाइके दुलाललाई कुँवरसँग जोड्ने काम पनि पाण्डेले नै गरेको पाइएको छ । दुलालले सचिव पाण्डेलाई भाइबर म्यासेजमा भनेका छन्, ‘सर बसन्त सरलाई पनि फाइनान्सिलय सपोर्ट हुन्छ भनिदिनु प¥यो।’ प्रहरी स्रोतका अनुसार खाँण पक्राउ पर्नु अगाडिसम्म आईजी कुँवर उनीसँग नियमित सम्पर्कमा रहेको देखिएको छ। ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले खोजी गरिरहेका बेला अनुसन्धानबाट प्राप्त सूचना कुँवरले खाँणलाई चुहाउने गरेको पनि प्रहरी स्रोतको दाबी छ।
हाल ठगी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । यो ठगी प्रकरणमा धेरैको संलग्नता रहेको र हाइप्रोफाइल व्यक्तिसम्मको ‘नेक्सस’ रहेको आशंका थियो।
मोबाइल डिजीटल फरेन्सीक ल्याब (डीएफएल) मा जाँच गर्न पठाइयो। यसअघि पक्राउ परेकाहरुले बयानमा मात्रै हाइप्रोफाइल व्यक्तिको नाम लिएकोमा मोबाइलको जाँचबाट हाइप्रोफाइलको संलग्नता पुष्टि हुने आधारहरु भेटिए। मोबाइलको जाँचपछि मात्रै घटनाले नयाँ मोड लिँदै हाइप्रोफाइलतर्फ अनुसन्धान सोझियो र संगठित ठगीको कसुरमा अनुसन्धान भयो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर