महिला टि-२० आई क्रिकेट : मलेसिया सँग नेपाल पराजित

- जेष्ठ १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ब्याटिङमा देखीएको कमजोरीका कारण नेपाल महिला टि२० आई खेलमा पहिलो पटक मलेसियासँग पराजित भएको छ । मलेसियाले पहिलो महिला टि२० आई खेलमा नेपाललाई ५ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
नेपालले यसअघि मलेसियासँग महिला टि२० आईमा तीन खेल खेल्दा सबैमा जित निकालेको थियो । जितको लागि ५१ रनको सामान्य विजयी लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २२ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । आइना हामिजाह हशिम १५ बलमा २ चौकासहित १२ रनमा नट आउट रहिन् ।
नेपालकी सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भएको थियो । यो महिला टि२० आईमा नेपालको संयुक्त रुपमा कम योगफल हो । यसअघि नेपालको महिला टि२० आईमा सबैभन्दा कम योगफल २०१९ मा १३ औं सागमा नेपाल बंगलादेशसँग ५० रनमै अल आउट भएको थियो । लज्जास्पद ब्याटिङ गर्नेक्रममा नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको तर्फबाट डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । नेपालले अन्तिम ९ रन बनाउँदा ७ विकेट गुमाएपछि ५० रनमै अल आउट भएको हो । नेपाल एक समय ४१–३ को अवस्थाबाट ५० रनमा सबै विकेट गुमाएको थियो ।
मलेसियाकी तीव्र गतिकी बलर ऐश्या एलिसाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर सीता रानामगरलाई शून्यमा पेभेलिएन फर्काइन् । उनी आउट साइड एज लागेर विकेटकिपर वान जुलियाबाट क्याच हुँदै पेभेलिएन फर्केकी थिइन्। अर्को ओभरको पहिलो बलमा आइना हामिजाहले काजोल श्रेष्ठलाई मास एलिसाबाट ६ रनमा क्याच गराइन् । काजोलले ११ बलमा एक चौका प्रहार गरिन् ।
एलिसाले इन्दु बर्मालाई ३ रनमा बोल्ड गरेपछि नेपाल ३.३ ओभरमा १२–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटमा ज्योति पाण्डे र सम्झना खड्काले २९ रनको साझेदारी गर्दै खेलमा फर्काउने सम्भावना देखाएका थिए । एक समय नेपाल ८.३ ओभरमा ४१(३ को अवस्थामा थियो । तर निक नुर अतिलाले ज्योतिलाई ११ रनमा क्याच आउट गराएपछि नेपालले लगातार विकेट गुमाएको थियो । ज्योतिले १७ बलमा २ चौका प्रहार गरिन् ।
निक नुरकै बलमा आइना नजावा अब्दुलले कप्तान रुविना क्षेत्री बेलबासेको सानदार क्याच लिएपछि नेपाल संकटमा परेको थियो । रुविना १० बलमा २ रन बनाइन् । सम्झना खड्का २५ बलमा १ चौकासहित १३ रनमा रन आउट भइन् ।
अश्मिना कर्माचार्य तीन, कजिता जोशी १, कविता कुँवर र अप्सरी बेगम डक आउट भए । मलेसियाकी निक नुर डीनले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । ऐश्या एलिसा २ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् ।
हमिजाहले ३.५ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । महिराह इश्लामीले ४ ओभरमा ३ रन खर्चेर २ विकेट लिइन् । नेपालले दोस्रो खेल भोली खेल्नेछ । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

नेपालको टोली

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर