नक्कली शरणार्थी प्रकरण : ७६ वर्षीय रिजालको मानसिक स्वास्थ्य चुनौतीपूर्ण रहेको भन्दै ख्याल राख्न आग्रह
- जेष्ठ १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संसारभरि रहेका भुटानी सामुदायिक संस्थाहरूले नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणको सिलसिलामा आफ्ना नेता टेकनाथ रिजाललाई पक्राउ गरिएकोमा आपत्ति र चिन्ता व्यक्त गरेका छन्। अमेरिका, युके, अष्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा पुनर्वास गराइएका भुटानी शरणार्थी समुदायसंग आवद्ध ती संस्थाहरुले उक्त प्रकरणले नेपालको छविलाई ध्वस्त पारेको र भुटानी शरणार्थी सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनामाथि गम्भीर असर पारेको बताएका छन्।
‘भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध छ। भुटानी शरणार्थीहरूको नाम र अंशमा हुने अपराधको गम्भीरतालाई नियाल्दा, मानवअधिकारका लागि समर्पित अविभक्त र भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षडयन्त्र गरेका हुन्। उहाँको छवि धमिलो पार्न सबै दोष उहाँमाथि थोपरेर शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ,’ वक्तव्यमा भनिएको छ।
बुधबार प्रकाशित वक्तव्यमा सन् १९८० को दशकको उत्तरार्धमा रिजालले नेपालमा शरण मागेको तर तत्कालीन पञ्चायती सत्ताले उनलाई पक्राउ गरी १९८९ मा जबरजस्ती भुटान सुपुर्दगी गरिएको उल्लेख छ। ‘पछि रिजाल भुटानी जेलमा आजीवन कारावास, शारीरिक र मनोवैज्ञानिक यातना सहेर अन्ततः अन्तर्राष्ट्रिय दबाबमा एक दशकको कारावासपछि रिहाइ गरिए र शरण खोज्दै फेरि नेपाल पसे। अहिले फेरि उनी पक्राउ परेका छन्, यस पटक ऊनीमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भुटानी शरणार्थी बनाएको अपराधको आरोप लगाइएको छ। शरणार्थी समुदायका नेतालाई यस्तो गलत आरोप लगाउनु निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ।
भुटानी संस्थाहरुले ७६ वर्षीय रिजालको मानसिक स्वास्थ्य चुनौतीपूर्ण रहेको भन्दै उनलाई प्रभावकारी रूपमा आफ्नो प्रतिनिधित्व गर्न वा उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपको जटिल प्रकृतिलाई पूर्ण रूपमा बुझ्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन पनि माग गरेका छन्।
ती संस्थाहरुले टेकनाथ रिजालको नाजुक स्वास्थ्य अवस्था, मानसिक समस्या, बढ्दो उमेर र जोखिम तथा उनी विरुद्धको षडयन्त्रलाई ध्यानमा राखी उनलाई अविलम्ब रिहा गर्न नेपाल सरकारलाई अपिल पनि गरेका छन्।
संयुक्त वक्तव्यको पूर्ण पाठ
मिति: ३१-०५-२०२३
हामी निम्न भुटानी (शरणार्थी) सामुदायिक संस्थाहरूको प्रतिनिधि गर्दै हाम्रा नेता श्री टेक नाथ रिजाललाई नक्कलीभुटानी शरणार्थी बनाउने गैर कानुनी गिरोहमा संलग्न अपराधमा तानिएकोमा घोर आपत्ति र चिन्ता व्यक्त गर्छौँ। यस जघन्य कार्यले नेपालको छविलाई ध्वस्त पारेको छ र आफ्नो आसन्न सङ्कटको स्थायी समाधान खोज्ने वास्तविक भुटानी शरणार्थीहरूको सम्भावनालाई गम्भीर असर पारेको छ। यस विषयमा छानबिन गरी यस अपराधमा संलग्न प्रभावशाली व्यक्तिहरूलाई कारबाही गरेकोमा नेपाल सरकारको प्रशंसा गर्दै यस घोटालाको सम्बन्धमा भुटानी मानवअधिकारवादी नेता श्री टेक नाथ रिजालको हालैको गिरफ्तारी अविश्वसनीय र सन्दिग्ध छ। भुटानी शरणार्थीहरूको नाम र अंशमा हुने अपराधको गम्भीरतालाई नियाल्दा, मानवअधिकारका लागि समर्पित अविभक्त र भुटानमा लोकतान्त्रिक परिवर्तनका कट्टर समर्थक श्री रिजाललाई आरोप लगाउँदै केही कथित व्यक्तिहरूले नियोजित षड्यान्त्र गरेका हुन्। उहाँको छवि धमिलो पार्न, सबै दोषहरू उहाँ माथि थोपरेर र शक्तिशाली अपराधीहरूलाई बचाउने प्रपञ्च देखिन्छ। उनी नेपाल सरकारको दयामा बाँचिरहेका छन् र उनलाई अहिले सबैभन्दा बढी सहयोगको आवश्यकता छ।
हामी, श्री रिजालको पृष्ठभूमि र विगतमा न्यायको अटुट प्रयासमा उनले सामना गर्नु भएका चुनौतीहरूप्रति ध्यानाकर्षण गराउन चाहन्छौँ। सन् १९८० को दशकको उत्तरार्धमा, उनले नेपालमा शरण मागे, तर दुःखको कुरा, उनलाई पक्राउ गरी १९८९ मा जबरजस्ती भुटान सुपुर्दगी गरियो। पछि, श्री रिजनलले भुटानी जेलमा आजीवन कारावास, शारीरिक र मनोवैज्ञानिक यातना सहेर अन्ततः अन्तर्राष्ट्रिय दबाबमा एक दशकको कारावास पछि रिहाइ गरिए र शरण खोज्दै फेरी नेपाल पसे। अहिले फेरि उनी पक्राउ परेका छन्, यस पटक ऊनीमाथि भ्रष्टाचार र नेपाली नागरिकलाई कागजी भूटानी शरणार्थी बनाएको अपराधको आरोप लगाइएको छ। शरणार्थी समुदायका नेतालाई यस्तो गलत आरोप लगाउनु निन्दनीय छ।
हामी, संयुक्त राज्य अमेरिका र विश्व भरका भुटानी (शरणार्थी) समुदायहरू श्री रिजालको गिरफ्तारीको वरपरका परिस्थितिहरूका सम्बन्धमा हाम्रो चिन्तालाई दृढतापूर्वक व्यक्त गर्छौँ। हामीलाई भय छ उनलाई अन्याय पूर्ण बलिपशु बनाइँदै छ, र हाम्रो प्राथमिक चिन्ता उनले उचित न्याय पाउने हुन कि होइनन् भन्ने हो।
श्री रिजालको स्वास्थ्य नाजुक छ र भुटानी जेलबाट रिहा भएदेखि उनले मानसिक स्वास्थ्यसँग सङ्घर्ष गरिरहेका छन्। श्री रिजाललाई प्रभावकारी रूपमा आफ्नो प्रतिनिधित्व गर्न वा उहाँ माथि लगाइएको भ्रष्टाचार आरोपको जटिल प्रकृतिलाई पूर्ण रूपमा बुझ्नको लागि आवश्यक सहयोग उपलब्ध गराउन हामी तुरुन्त अनुरोध गर्दछौँ।
यसबाहेक, हामी स्थायी समाधानको रूपमा स्वदेश फिर्ता, स्थानीय एकीकरण, र पुनर्वासको लागि प्रतीक्षारत बाँकी शरणार्थीहरूको सम्भावनाहरूमा यस काण्डले प्रतिकूल प्रभाव पार्ने देख्छौ। हाम्रा नेतालाई अनैतिक रूपमा मार्गच्युत गरेर, तीन दशकदेखि शिविरमा शरण खोजेका वास्तविक शरणार्थीहरूको प्रतिष्ठालाई यस गतिविधिले गम्भीर रूपमा कलङ्कित गरेको छ। तसर्थ, श्री रिजालको अविलम्ब रिहाइको लागि, नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाउने नियतले गरेकाे कार्यको भर्त्सना गर्दै घटनामा संलग्न दोषीहरूलाई छिट्टै कानुनी कठघरामा ल्याइने विश्वासका साथ चलिरहेको अनुसन्धानलाई समर्थन गर्न हस्ताक्षरकर्ता हार्दिक आह्वान गर्दछौ। श्री रिजालको नाजुक स्वास्थ्य अवस्था, मानसिक समस्या, बढ्दो उमेर र जोखिम तथा उहाँ विरुद्धको षडयन्त्रलाई ध्यानमा राखी उहाँलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग संयुक्त रूपमा अनुरोध गर्दछौँ। यदि आवश्यक भएमा, उहाँलाई अनुसन्धान प्रक्रियाको क्रममा आवश्यक पर्दा अदालतमा उपस्थित हुन आग्रह गर्न सकिन्छ। हामी सरकारलाई छिटो, पारदर्शी र निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न र श्री रिजालको पछि लाग्ने, उहाँको नेतृत्व र नेपालमा रहेका भुटानी शरणार्थीहरू र भुटानी प्रवासीहरूको मुद्दालाई बरबाद गर्न सक्रिय सबैलाई अदालतमा पेस गर्न आग्रह गर्छौँ।
निम्नद्वारा अनुमोदित
भुटनीज कम्युनिटी अफ सेन्ट्रल ओहायो (संयुक्त राज्य अमेरिका)
भुटनीज वेलफेयर एसोसियसन (युके)
ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (द नेदरल्यान्ड्स)
सदर्न तस्मनिया इंकको भुटानी सामुदायिक संगठन (अष्ट्रेलिया)
भुटनीज कम्युनिटी अफ लेक्सिंगटन, केन्टकी (संयुक्त राज्य अमेरिका)
श्री भानु ढुंगाना, का पूर्व अध्यक्ष, भुटानी क्यानेडियन एसोसिएसन (क्यानडा)
श्री भोजराज सुब्बा, अध्यक्ष , न्युजिल्याण्डको भुटानी समुदाय (न्युजिल्याण्ड)
डा. गोविन्द रिजाल, भुटानी अध्येता (नेपाल)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments