बजेटलाई शून्य अंक दिने ओलीको मूल्यांकन सत्ताबाट विमुख हुनु पर्दाको पूर्वाग्रह र प्रतिशोधयुक्त :उपमहासचिव शर्मा माओवादी केन्द्र

- जेष्ठ २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चालु आबको बजेट फेल भएको मात्र होइन, शून्य अंक दिने बताएका छन् ।
मााओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री शर्माले ओलीको प्रतिवाद गरे । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै शर्माले आफ्नो बजेटलाई शून्य अंक दिने ओलीको मूल्यांकन सत्ताबाट विमुख हुनु पर्दाको पूर्वाग्रह र प्रतिशोधयुक्त मात्र भएको बताए ।
उनले उच्चस्तरीय आयोग नै बनाएर विगत १० वर्षको बजेटका समीक्षा गर्न समेत चुनौती दिएका छन् ।
यद्यपि आफूले ल्याएको बजेट समृद्ध देश बनाउने योजनाका साथ आएको उनको दाबी छ । समृद्ध देश बन्नलाई जीडीपी बढ्नुपर्ने र उत्पादनले मात्र जीडीपी बढ्ने भन्दै उनले आफूले ल्याएको चालु अबको बजेटका केही योजनाको स्मरण समेत गरेका छन् ।

स्टील उद्योग, अटोमोबाइल एसेम्बलिङ प्लान्ट, एक्सपोर्ट रीबेट, उद्योगलाई बिजुलीमा सहुलियत, पर्यटन पूर्वाधारका लागि सुविधा, मोटरसाइकल र गाडीमा निम्न वर्गलाई कम दर र विलासी गाडीमा बढी कर, आईटी सेवा र उत्पादन निर्यातमा कर छुट, कमर्सियल कृषि फार्मिङमा कर छुट, उद्योगका कच्चा पदार्थमा कर छुट, फिनिस्ड गुड्समा कर वृद्धि, रुग्ण तथा बन्द उद्योगको पुनः संचालन र कर वृद्धि गरी सुपारी तस्करीको अन्त्य आफूले ल्याएको बजेटको आधारभूत सिद्धान्त र मान्यता भएको उनले बताए ।
यो प्रक्रियामा धौवाडी फलाम खानी उत्खननसँगै नेपाल पूर्णरुपमा फलाममा आत्मनिर्भर हुने भन्दै पूर्व अर्थमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई प्रश्न गरे, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने प्रक्रिया यही होइन ?’
शर्माले अघि भने, ‘मैले प्रोत्साहन नीति सुरु गर्दा २ वटा एसेम्बलिङ उद्योग थिए । ६ वटा नयाँ थपिएर आज ८ वटा सञ्चालनमा छन् । ६÷७ अर्बको लगानी र १२०० रोजगारी थपिएको छ ।’

अधिकांश समय ओलीको प्रतिवादमा खर्चिएका शर्माले केही गम्भीर आरोप समेत लगाए । सुपारी तस्करी रोकेको र खैनी चुरोटमा कर बृद्धि गरेकै कारण आफूमाथि श्रृंखलाबद्ध हमला भएको उनको दाबी छ ।
आफू अर्थमन्त्री बन्नुपूर्व २५ हजार मेट्रिक टन सुपारीको कोटा वितरण भएको र निकासी चोरबाटोबाट गर्दा केही तस्कर र तिनका संरक्षकले १२०० करोड कमाएको उनले उल्लेख गरे । यसले देशको डलर संचितिमा ह्रास आउनुका साथै कालोधनले अर्थतन्त्रमा जोमिख निम्त्याउने भएपछि आफूले भारतमा सुपारीको मूल्य बराबर हुने गरी कर र अन्तशुल्क बढाएको उनले बताए ।
छिमेकी देशको मूल्य बराबर गर्न सुर्तीजन्य पदार्थ र चुरोटमा १९ प्रतिशतसम्म कर बढाएको पनि कतिपयलाई मन नपरेको भन्दै पूर्वअर्थमन्त्री शर्माले भने, ‘अनि ममाथि श्रृंखलाबद्ध हमला सुरु भयो ।’

‘मलाई हमला गरेको मुख्य कारण खैनी, चुरोट र सुपारीमा कर वृद्धि नै हो । यसका पछाडि के थिए भन्ने त्यसबेलामा मिडिया रिपोर्टमा उनीहरुका अनुहार प्रष्ट देखिएकै थिए’, उनले भनेका छन् ।
बजेट निर्माणलाई लिएर पनि आफ्नोबारे दुश्प्रचार गरेको र चिन्दै नचिनेको नासुलाई अगाडि सारेर संसदमा हंगामा गरेको पूर्व अर्थमन्त्री शर्माको दाबी छ । संसदीय समितिले सबै आरोप निराधार भनेर खारेज गर्दा पनि आफूलाई लान्छना लगाउने गरिएको भन्दै उनले भने, ‘मैले बनाएको बजेटको म पुरा जिम्मा लिन्छु ।’
आफूले ल्याएको बजेटमा गर्व गर्ने भन्दै उनले त्यो बजेटका कारण देशलाई कुनै हानि भएको रहेछ भने आफूले जिम्मा लिने समेत बताए ।
हालसम्म बजेट निर्माण गर्दा कहाँ–कहाँ सूचना चुहावट भएका छन् भन्ने छर्लंग रहको भन्दै उनले भने, ‘मेरो प्रस्ताव छ– २०४६ सालपछि ८० सम्मको सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ती छानबिन आयोग बनाऊ । तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिएको नाटक नगरौं ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर