जसपाको विधान अधिवेशन सम्पन्न

- असार १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जनता समाजवादी पार्टी, (जसपा) नेपालको तीन दिनदेखि काठमाडौँमा जारी विधान अधिवेशन मंगलबार सम्पन्न भएको छ । यही असार १० गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उक्त विधान अधिवेशन जारी रहेको थियो ।

विधान अधिवेशनबाट विधान प्रमाणीकरणका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेन्द्र झा रहेको विधान प्रमाणीकरण समिति बनाइएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार विधान अधिवेशनमा उठेका विषय र समूहले निकालेका निष्कर्षका विषयलाई समावेश गरी विधानलाई अन्तिम रूप दिइने छ । प्रमाणीकरण समितिले विधान प्रमाणीकरण गरेसँगै उक्त विधान लागू हुने जनाइएको छ ।

विधान अधिवेशनमा पार्टीको झण्डा फेर्नुपर्ने, ७० वर्षको उमेर हद राख्न नहुनेजस्ता विषय उठेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

यसैगरी जसपाले पहिचानमा आधारित राष्ट्रिय समितिलाई साङ्गठनिक संरचना मानेर जाने भएको छ । प्रदेश समितिको मातहतमा राष्ट्रिय समिति रहने गरी विधानमा व्यवस्था गरिने भएको छ । विधान अधिवेशनमा पार्टी अध्यक्ष एवं मस्यौदा तयारी समितिका संयोजक उपेन्द्र यादवले विधानको मस्यौदा सोमबार प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत उक्त मस्यौदामाथि १० वटा समूहमा विभाजन गरेर भएको छलफल सकिएसँगै आज प्रत्येक समूहबाट एक–एक जना टोली नेताले आ–आफ्नो समूहमा छलफल गरी निकालिएको निष्कर्ष समूहका तर्फबाट प्रस्तुत गरेका थिए ।

अधिवेशनलाई समापन गदै अध्यक्ष यादवले पहिचानको मुद्दालाई यो विधानले बोक्ने भएकाले राष्ट्रिय समितिलाई अझै शक्तिशाली बनाउने धारणा राखेका थिए । पहिचानको लडाइँ अझै बाँकी रहेकाले जसपाले त्यसको नेतृत्व गर्ने र त्यसका लागि राष्ट्रिय समिति र प्रदेश समितिलाई अझ सशक्त बनाएर अगाडि बढ्ने उनको धारणा छ ।

यसैगरी पार्टी अध्यक्ष यादवले अधिवेशनले पार्टीमा झन ऊर्जा थपेको बताउँदै विधान कार्यान्वयनमा आएपछि पार्टीको राजनीतिक गतिविधि सोहीअनुसार अगाडि बढाउनसमेत निर्देशन दिएका थिए ।

उक्त पार्टीको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनबाट गरी सात सय ४६ जना प्रतिनिधि रहे पनि अधिवेशनमा भने जम्मा छ सय प्रतिनिधि सहभागी रहको सो पार्टीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर