छिम्केश्वरी मन्दिरमा पित्तलको छानो
- असार १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
तनहुँ ।
तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो ।
छिम्केश्वरी समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ । विगत दुई वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनःनिर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा पित्तलको छानो छाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “पित्तलले छाएर मन्दिरलाई आकर्षण बनाउन लागिएको हो ।”
भक्तपुरबाट कालीगढ मगाएर छानो छाउने काम भइरहेको छ । चुमानका अनुसार असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । छिम्केश्वरी मन्दिर पुनःनिर्माणका लागि करिब रु ८० लाख खर्च भइसकेको छ ।
गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।
महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको अध्यक्ष चुमानको भनाइ छ । चुमानले भने, “छिम्केश्वरीलाई प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन योजनाबद्धरुपमा लागेका छौँ । आगामी आर्थिक वर्षको बजेटमा पनि छिम्केश्वरीको विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।”
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आव ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।
छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी भइरहेको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ ।
यसअघि एक हजार दुई मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments