ललिता निवास प्रकरण : अस्थायी संरचना हटाउन कामपाको निर्देशन

- असार १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो । स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ । उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिए । आइतबार कामपा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो ।

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ । उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ । यस अवधिमा कामपा नगरप्रहरीको नेतृत्वमा विभिन्न स्थानमा गरी एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर