फिचर : सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलनमा परिवर्तन गरे महिलाले

- असार १९, २०८० मा प्रकाशित


सुशीला रेग्मी,
रामपुर (पाल्पा) ।

करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो । बाख्रापालन गरेर आम्दानी धेरै लिन सकिन्छ भन्ने चेतना र सोच कमैमा थियो ।
बाख्रापालन गर्ने प्रविधि, ज्ञान, सीप र सहयोग नपाउँदा कतिपय स्थानीय नयाँ तरिकाबाट व्यवसाय गर्ने चाहना भएता पनि यसबारे अनभिज्ञ रहँदा परम्परामै सीमित रहन बाध्य भएका हुन् ।

तर अहिले भने स्थानीयको अवस्था पहिलेको तुलनामा धेरै फेरिएको छ । गाउँ–गाउँमा स्थानीय सरकारले आयआर्जनमूलक क्षेत्रमा लगानी, विभिन्न सीप, प्रविधि सिकाउन थालेपछि बाख्रापालन आम्दानीको भरपर्दो र दिगो आयस्रोत हो भन्ने सबैमा चेतना बढ्दै गएको छ । बाख्रापालन व्यवसायमा राम्रो ज्ञान सीप र प्रविधि पाएपछि पाल्पा रामपुरका महिलाको दिनचर्या बदलिएको छ ।

बाख्रापालनलाई व्यवसायीकरण गर्न थालेपछि रामपुर–१० तल्लो कुमालगाउँ बस्ने कमला कुमालको दिन फेरिँदै गएका छन् । आफूले घरमा पालनपोषण गरेको पाठा नौ महिनामा बिक्री गरी बुझेको रु १५ हजार रकमले उनमा खुसीको सीमा छैन । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा नगरभित्रका महिलालाई बाख्रापालनबाट जिविका धान्ने गरी माउ बाख्रा वितरण तथा विभिन्न औषधि, तालिम, बाख्रापालन गर्ने सीप पाएपछि उनले नयाँ प्रविधिबाट बाख्रापालन थालीन ।
“बाख्रापालनका लागि धेरै प्रविधि सिकियो, आधुनिक प्रविधिअनुसार पालनपोषण थालिएको छ, दानापानी, घाँसपात दिने तरिकालगायत धेरै सीप सिकेपछि बाख्रापालनमा सजिलो भएको छ, आफ्नो मेहनतले आर्जन गरेको कमाई हात पर्दा छुट्टै आनन्दको अनुभूति अनुभव उनले सुनाइन ।
उनको घरमा नगरपालिकाको सहयोगमा एक माउ बाख्रासहित एक सानो पाठी र दुई ठूला माउ बाख्रा छन् । बाख्रापालन गरेर मनग्य आम्दानी गर्ने लक्ष्यसहित व्यवसाय विस्तार गर्दै जाने उनी बताउँछिन् ।
धेरै मेहनत गर्न नपर्ने, घरको कामधन्दा, छोराछोरीको हेरचाह गर्दै बाख्रापालन कमाई गर्ने आधार बनेकामा उनी उत्साहित छिन् ।

तल्लोकुमाल गाउँकै गङ्गादेवी कुमालले बाख्रापालन गर्ने विभिन्न प्रविधि, सीपमूलक तालिम पाएपछि व्यवस्थित खोर निर्माण गरेर बाख्रापालन थालेकी छिन् । उनको घरमा हाल पाँच माउबाख्रा, दुईवटा पाठा, दुईवटा पाठी छन् । रामपुर नगरको सहयोगमा एक माउ बाख्रा पाएपछि अरु बाख्रा आफैँले थप गरेर व्यवसाय चलाएकी छिन् । बाख्रापालनलाई व्यवस्थित गरी दिगो आम्दानीको स्रोत भित्र्याउन रु ४५ हजारको लागतमा करिब २० वटा बाख्रा अट्ने खोर निर्माण गरेकी छिन् । उनले ५० वटासम्म माउ बाख्रापालन गर्ने लक्ष्य राखेकी छिन् ।

एक बाख्राबाट सुरु गरेको व्यवसाय थपिँदै जाँदा अहिले नौ पुगेको छ । “मजदुरी कामले मात्रै जीविका चलाउन सकिएन, परिवारको आयस्रोत केही छैन, परिवार धान्न र आयआर्जनका लागि बाख्रापालनलाई जोड दिएको छु”, उनले भनिन, “बेला–बेलामा यससम्बन्धी सीपमूलक तालिम, प्रविधि सिक्न पाइने, बाख्रापालनमा स्थानीय सरकारबाट सहयोग पाइँदोरहेछ, यसमै असाध्यै खुसी छु ।”

रामपुर–१० स्वामीभन्ज्याङ बस्ने सिर्जना सुनारले यसभन्दा अघि भैँसी बाँध्ने गोठमा परम्परागत तारिकाले बाख्रापालन गर्थिन । बाख्रापालनका लागि नयाँ प्रविधि र सीप नजान्दा यसबाट आशा गरेअनुसारको प्रतिफल लिन सकिनन । सात वर्षदेखि बाख्रापालनमा आबद्ध सुनारले परम्परागत तरिकाले पालन गरेकाले खासै आम्दानी गर्न नसकेको बताइन । उनमा बाख्रापालनका लागि आवश्यक ज्ञान, सीप र प्रविधिबारे जानकारी नहँुदा भैँसी बाँध्ने गोठमा सामान्य तरिकाले बाख्रा पालिन्थ्यो । हिजोआज भने बाख्रापालन गर्ने उहाँमा धेरै ज्ञान, सीप र प्रविधिले घरमा पालिएका बाख्रा छिटो हुर्कँदै गएका छन् ।

रामपुर नगरपालिकाले बाख्रापालनसम्बन्धी प्रविधि, बाख्रालाई औषधोपचार सेवा उपलब्ध गराएपछि पहिले र अहिले गर्र्ने व्यवसाय फरक भएको सुनार बताउनुहुन्छ । हाल उहाँको घरमा चार माउ, तीन पाठा, दुई पाठी गरी जम्मा नौवटा बाख्रा छन् । पाठापाठी र माउ बस्ने खोर नै बेग्लै बनाउनुभएको छ । विस्तारै घरमा उत्पादन भएका पाठी हुर्काएर माउ बनाउने र अन्य बाख्रा थप गरेर बढाउँदै जाने उहाँ बताउनुहुन्छ ।

रामपुर–६ तालपोखरा बस्ने हरिमाया घर्तीले बाख्रापालनमा सहयोग पाएपछि अहिले रामपुरमै नमूना खालको व्यवस्थित खोर निर्माण गरेकी छिन् । नगरपालिकाले खोर व्यवस्थापनका लागि रु २० हजार रकम सहयोग गर्ने भएपछि उनले व्यवसायलाई बढाउने गरी करिब रु ६० हजारको लागतमा नमूना खोर तयार पारेको बताउँछिन् ।

रामपुरमा सुरु भएको परियोजनाले दुई वर्षदेखि तालिम तथा प्राविधिक सहयोगसहित नगरभित्रका १० वटै वडामा १० मूल समूह, १० युवा उद्यमी समूह र ३१ वटा उपहार समूह गरी ५१ समूह गठन गरेको छ । परियोजना सुरु भएदेखि चार सय २१ वटा बाख्रा माउ वितरण, उपहार प्रदान विधिअनुसार दिदी–बहिनी समूहलाई ३६ वटा माउबाख्रा प्रदान, नश्ल सुधारका लागि ५१ समूहमध्ये ४० समूहलाई ४१ वटा उन्नत जातको बीउ बोका प्रदान गरेको सो परियोजनाका संयोजक सन्जु परियारले जानकारी दिइन ।

घरमै बसेर सानो लगानीमा पनि बाख्रापालन गरेर महिलाले आफ्नो जीविका निर्वाह गर्न सक्ने भएकाले बाख्रापालनको क्षेत्रमा नगर सरकारले माउबाख्रा तथा औषधोपचार, विभिन्न सीपमूलक प्रविधि सहयोग कार्यक्रम गरेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताए । बाख्रापालन कार्यक्रम नगर सरकारले प्राथमिकता दिएर सुरु गरेपछि रामपुरमा बाख्रापालन गर्ने महिलाको उत्साह बढेको र यसबाट आयआर्जनतर्फ उन्मुख हुँदै गएको नगरप्रमुख थापाले बताए ।

“महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन उनीहरूको रुचि र इच्छाअनुसार बाख्रापालन व्यवसाय भएकाले यस क्षेत्रमा नगर सरकारले परियोजनामार्फत आर्थिक सहयोग गरिरहेको छ”, नगरप्रमुख थापाले भने, “नगरको आर्थिक सहयोगमा परियोजना सञ्चालनमा आएपछि घरमा एक–दुईवटा बाख्रापालन गर्नेले व्यावसायिकतामा जोड दिएका छन् ।”

व्यावसायिक बाख्रापालनसम्बन्धी थोरैमात्र ज्ञान हुनुले यो व्यवसायलाई आशातित हिसाबले अगाडि बढाउन नसकिरहेको अवस्थामा अब भने नगर सरकारको सहयोगमा महिलाले बाख्रापालनलाई परिवारको दरिलो आयस्रोत बनाउनेतर्फ अग्रसर भइरहेका छन् । गाउँ–गाउँमा सडक सुविधाले उत्पादित कृषिउपज बजारसम्म लैजान सहज, बजारमा बाख्राको माग बढ्दो, बजार मूल्य राम्रो, थोरै लगानीमा खोरमा दुई–चार बाख्रालाई राम्रोसँग पालनपोषण गरेर दैनिकी चलाउन सकिने भएकाले बाख्रापालन व्यवसाय महिलाको मुख्य व्यवसाय बनेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर