•  ११ पुष २०८१, बिहीबार

कांग्रेस जिल्ला सभापति भेला : पार्टीका काम कार्वाही कर्मकाण्डी मात्रै भएको, नेताहरुको चाकडी गर्नेहरुले मात्रै अवसर पाएको

- असार २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको जारी रहेको भेलामा मुख्य नेतृत्व तहको तिब्र बिरोध भएको छ । पार्टीमा नेताहरुको ढोका चार्हनेहरुको मनोपली हुन् थालेको धारणा जिल्ला सभापतिहरुले राखेका छन् ।
संघ देखी प्रदेशसम्मको बजेट तर्जुमा गरिएको बिषयमा पनि भेलामा कुरा उठेको थियो । प्रविधिमैत्री सदस्यता वितरण तथा नवीकरण प्रणाली एवं संगठन सुदृढीकरण लगायतका विविध विषयमा आह्वान गरिएको उक्त भेलामा पार्टीको रुपान्तरणको खाका बारेमा नेतृत्वपंक्तिलाई स्पष्ट पार्न समेत भनेका छन्।

गुट नमिलेका कारण हाम्रो मन्त्रालयको बजेट सिलिङ घटाइदिनुभयो।’ अर्थमन्त्री महत सभापति शेरबहादुर देउवा र लिम्बु डा शेखर कोइरालानिकट हुन्। मोरङ जिल्ला सभापति समेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अर्थमन्त्री प्रकाशशरण महतले गुट नमिलेकै कारण आफ्नो मन्त्रालयको बजेट घटाएको आरोप लगाए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको सभापतिहरुको भेलामा उपस्थित अधिकांसले पार्टीको वर्तमान अवस्थाका बारेमा बोलेका छन्।

कांग्रेसका अधिकांश सभापतिहरुले कांग्रेसभित्र गुट–उपगुट मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले पार्टीमा विधानअनुसार काम नभएको, पार्टीका कामकारबाहीहरु कर्मकाण्डी मात्रै भएको, नेताहरुको चाकडी गर्नेहरुले मात्रै अवसर पाएको र वास्तविक नेता कार्यकर्ताको मूल्याङ्कन नभएको भन्दै गुनासो गरेका छन्।

कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेस भित्र गुटबन्दी बढ्दै गएको बताए। उनले भने, ‘पार्टी विधान अनुरुप चल्न सकेको छैन। पार्टीभन्दा ठूलो अर्को एनजीओ छैन। क्यालेण्डर अनुसार हुनुपर्ने काम कर्मकाण्डी मात्रै भए।’ त्यसैगरि कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामाले कांग्रेसबाट निर्वाचित पदाधिकारीहरु जिल्लामा नरहेको र विदेश पलायन भएको बताए।
साथै उनले पार्टीलाई अन्तरघात गर्नेहरुलाई समेत पार्टीले कारबाही गर्न नसकेको गुनासो गरे। उनले विधानमा सभापतिलाई अधिकारसम्पन्न बनाउनु पर्नेमा जोड दिँदै केन्द्रमा भएको गुटबन्दीका कारण तल्लो तहसम्म थिलथिलो बनेको बताए।

त्यस्तै, पाँचथरका सभापति रुपनारायण जगेवुले पार्टीको क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नु पर्नेमा जोड दिए। उनले कांग्रेसप्रति युवाको आकर्षण नघटेको दाबी गरे। कांग्रेस सप्तरीका जिल्ला सभापति रामदीप साहले सातवटै प्रदेशमा कांग्रेसको सरकार भए पनि कांग्रेस कार्यकर्ताहरुले त्यसको अनुभूति नगरेको बताए।

जिल्ला सभापतिहरुको भेलामा केही सभापतिहरुले चाकडी गर्नेले मात्रै अवसर पाएको गुनासो गरे। सोलुखुम्बुका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका भातृ संगठन गठन गर्दा जिल्ला सभापतिहरुलाई एकपटक पनि नसोधेको आरोप लगाए। उनले भने, ‘पार्टीको भातृसंगठन गठन गर्दा जिल्ला सभापतिहरुलाई सोधिएको छैन। एउटै व्यक्ति दोहोरो भूमिकामा छ। तर दुख गर्नेले अवसर प्राप्त गर्न सक्दैन।’

त्यस्तै, कांग्रेस सप्तरीका जिल्ला सभापति रामदीप साहले केन्द्र र प्रदेशले बजेट विनियोजन गर्दा समेत उपेक्षा गरेको आरोप लगाए। प्रतिनिधि सभा सदस्यसमेत रहेका रामेछाप जिल्लाका सभापति पूर्णबहादुर तामाङले पनि सरकार र पार्टीबीच समन्वयको अभाव रहेको औंल्याए।

त्यस्तै, शंखुवासभाका सभापति दीपकबहादुर खड्काले आफ्नै पार्टीका मन्त्रीहरुसँग भेट्न समेत नपाएको गुनासो गरे। कांग्रेसका ९ जना जिल्ला सभापति सांसद रहेका छन्। उनीहरु सवैले बजेटप्रति असन्तुष्टि जनाएका हुन्।

अछाम जिल्लाका सभापति पुष्पबहादुर शाह र बाजुरा जिल्लाका सभापति रामसिंह रावलले केन्द्रदेखि प्रदेशसम्मका मन्त्रीले आफू अनुकुल बजेट विनियोजन गरेका कारण जिल्लामा जान नसिकने अवस्था सिर्जना भेलामा बताएका छन्।

उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। साथै सभापतिहरुले पार्टीलाई पुनर्जागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अप्ठ्याराहरुको बारेमा कुरा राखेको र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफूहरुको कुनै समन्वय नभएको गुनासो समेत पोखेका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यपत्र प्रस्तुत गरेका थिए। उनले पार्टीको रुपान्तरणमा आफूहरु सक्रिय भएको बताएका थिए। कांग्रेसले पहिलोपटक पार्टी सदस्यताका लागि अनलाइनमार्फत् नै आवेदन दिनसक्ने बनाएको बताएका थिए।

उनले भनेका थिए, ‘पार्टी सदस्यताको साधरण सदस्यता र क्रियाशील सदस्यताको विषयमा मतभेद बढ्न नदिन कांग्रेसले प्रविधिमैत्री सदस्यता वितरण र नवीकरण गर्नेछ।’

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक मिन विश्वकर्माले कांग्रेसका क्रियाशील सदस्यताको विषयमा प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेको भए पनि महाधिवेशनमा मात्रै एकै चोटी गर्ने परिपाटीका कारण नवीकरण र नयाँ सदस्यताको बारेमा विवाद हुने गरेको बताए। उनले भने, ‘पार्टीले महामन्त्रीद्वयलाई दिएको जिम्मेवारीअनुसार जिल्ला सभापतिको भेला गरिएको छ।

पार्टीको प्रविधिमैत्री सदस्यता र नवीकरण प्रणालीका बारेमा छलफल भयो। अब कांग्रेस पार्टीमा आबद्ध हुन चाहनेले अनलाइन प्रणालीमार्फत् नै सदस्यता हासिल गर्न सक्नेछन्।’ बोल्न बाँकी सभापतिहरुले शुक्रबार बोलेपछि महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गरेर कार्यक्रम सकिनेछ। शुक्रबार बिहान ११ बजेदेखि भेला फेरि सुरु भएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर