•  २६ पुष २०८१, शुक्रबार

श्रावण महिनाबारे पौराणिक व्याख्या : विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान शिव

- श्रावण १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहेको उल्लेख छ ।

यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गरेको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात् गङ्गा नदी लिएर हिँडेका भगवान् शिव आफै जल भएको उल्लेख गरिएको छ ।

यसै हिसाबले पनि यस महिना शिव लिङ्गमा जल चढाउन पहेँलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरूपको खर्पनझैँ बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर जाने चलन छ । धरानको पिण्डेश्वर, काठमाण्डौको बाग द्वार, महोत्तरीको सोनामाईथान र सिद्धानाथ, सिराहाको कमलामाई दोभान लगायत देशैभरि नै सुन्तला रङ्गका एकसरो वस्त्र धारण गरेका शिवभक्त काँवरहरूको भीड लाग्ने गर्दछ ।

श्रावणका काँवरहरू
तराई मा यो महिना भरी काँवरहरूले आफूले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउन्जेल खुट्टामा चप्पल समेत नलगाई चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्रा कोलागि आफूलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू काठ्माण्डौको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बारा जिल्लाकै काँट घाट धाम लगायतको विभिन्न शिवालयहरूमा काँवरहरूको ठुलो घूँइचो रहने गर्दछ ।
दक्षिणायन

श्रावण सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिन विशेषलाई दक्षिणायन समेत भनिन्छ । सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट सङ्क्रान्ति लाई श्रावण सङ्क्रान्ति या साउने सङ्क्रान्ति पनि भनिन्छ । श्रावण महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्त्व रहिआएको छ । विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाँग, धतुरो तथा बेली पुष्प समर्पण गरी सफलता, सु(स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रही आएको छ ।

यो रङ्गिन महिनाको सुरुवात भनेकै कर्कट सङ्क्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकाङ्क्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रङ्गिन चुराहरू लाउने गरिन्छ ।

श्रावणसम्ममा बारीका मकैहरू पनि ठुलै घोगा भइसकेका हुन्छन्, श्रावणको झरीमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्द नै बेग्लै हुन्छ । गाउँघरका हिलो गोरेटोमा प्याट्ट प्याट्ट चप्पल पड्काउँदै लड्दै चिप्लीदैँ हिँडेको बाल्यकालका यादहरू पनि श्रावण महिनाको एउटा सम्पत्ति हो, यस श्रावणले हामी सबैको जय होस !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर