•  २५ पुष २०८१, बिहीबार

अल्जेरियाको सहारा क्षेत्रमा बस दुर्घटना : ३४ जनाको मृत्यु, १२ जना घाइते

- श्रावण ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अल्जेरियाको दक्षिणी मरुभूमिमा बुधबार बिहान सबेरै एउटा यात्रुबाहक बस र व्यापारिक सवारी साधन एकआपसमा ठोक्किँदा कम्तीमा ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अल्जेरियाको नागरिक सुरक्षा निकायका अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियामा भएको सबैभन्दा घातक सडक दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर टाढा रहेको तमानरासेट शहर नजिकै स्थानीय समयअनुसार बिहान ४ :०० बजे बस दुर्घटना भएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सहारा नदीको गहिराइमा रहेको तमानरासेटबाट २० किलोमिटर पश्चिममा रहेको आउटौल शहर नजिकै बस दुर्घटना भएको र घटनास्थलबाट जलेका मृत शरीरहरू फेला परेका छन् ।

नागरिक सुरक्षा एजेन्सीका अनुसार बसले उत्तरपश्चिमतर्फ करिब दुई हजार बासिन्दा रहेको तमानरासेट र अद्रारको बीच जाने यात्रु लिएर गएको थियो ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको फुटेजमा बसमा आगोको ठूलो मुस्लो लागेको देखिएको छ ।

अल्जेरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका अन्य तस्बिरमा उद्धारकर्मीहरू घटनास्थलमा रहेको र दुर्घटनामा परेका दुई जलेका गाडी नजिकै रहेको देखिएको छ ।

अधिकारीहरूले दुर्घटनाको अवस्था र यसको कारणबारे तत्काल केही बताएका छैनन् । सरकारी सडक सुरक्षा निकायका अनुसार देशमा सडक दुर्घटनाको मुख्य कारण तीव्र गति नै हो ।

दुर्घटनाको बारेमा कुनै आधिकारिक टिप्पणी गरिएको छैन । अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौने चीनको राजकीय भ्रमणका लागि अहिले चीनमा हुनुहुन्छ ।

तमानरासेटका गभर्नर मोहम्मद बौद्राले स्थानीय अस्पतालको भ्रमण गर्नुभएको छ । उक्त अस्पतालमा दुर्घटनामा परी घाइते भएका १२ जना घाइतेको उपचार भइरहेको सरकारी समाचार एजेन्सी एपीएसले जनाएको छ ।

उनीहरू पनि गम्भीर रूपमा जलेको बताइएको छ । एपीएसका अनुसार प्रान्तीय अधिकारीहरू पनि उद्धार कार्यको निरीक्षण गर्न दुर्घटनास्थलमा पुगेका थिए ।

अल्जेरियाका सडक सुरक्षा प्रमुख नासेफ अब्देलहाकिमका अनुसार सन् २०२२ मा करिब २३ हजार सडक दुर्घटना भएका छन् जसमा तीन हजार ४०९ जनाको मृत्यु भएको छ भने ३० हजारभन्दा बढी घाइते भएका छन् ।

तमानरासेट अल्जेरियाको सुदूर दक्षिणबाट तटीय उत्तरमा मानिसहरू र सामानहरूको आवागमनको लागि एक महत्वपूर्ण यातायात केन्द्र हो ।

माली र नाइजरको सीमा नजिक रहेको यो क्षेत्र अल्जेरिया हुँदै युरोप पुग्ने आशामा रहेका उप–सहारा अफ्रिकाका आप्रवासीहरूका लागि पनि एक प्रमुख ट्रान्जिट प्वाइन्ट हो ।

सन् २०२० को डिसेम्बरमा तमानरासेट नजिकै भएको कार दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर