विचार : हत्याको प्रयास र फँसीलाई समेत डटेर सामना गर्ने शक्ति भएका व्यक्तित्व बिपी

- श्रावण ६, २०८० मा प्रकाशित


अर्जुननरसिंह केसी,
काठमाडौं ।

जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए । नेपालका राष्ट्रिय राजनीतिमा उनीभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिएको छैन । उनलाई मूर्धन्य नेताहरुले पनि आफ्नो नेता मान्ने गर्दथे । जुन उच्च मान्यता आजतक कायमै छ । नेपालको राजनीतिमा सबैभन्दा धेरै शब्द खर्चिएका र अन्तर्राष्ट्रिय राजनेताका रुपमा उनको नाम आउँछ । चीनमा राष्ट्रिय स्वाधीनता तथा एकता जनतन्त्र र समाजवादको लागि डा सनयात सेनको र भारतमा सर्वोदय नेता जयप्रकाश नारायणको जुन राजनीतिक स्थान छ, बिपी त्यही स्तरको नेता थिए ।
बिपीको राजनीतिक जीवनको यात्रा त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो । उहाँ भारतीय स्वतन्त्रता संग्राममा पनि सेनानी थिए ।

भारतबाट बृटिस शासन नहटेसम्म नेपालमा उसद्वारा पालित पोषित राणा शासन ढल्न र प्रजातन्त्रको नयाँ युग आउन कठिन हुने हुँदा भारतीय स्वतन्त्रता संग्रामलाई नेपालमा लोकतन्त्र स्थापनाको आधार मानेका थिए । आफ्ना पिता कृष्णप्रसाद कोइरालाको जेलमै निधन हुँदा उनी भारतको हजारीबाग जेलमा राजबन्दी थिए । आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाजु मातृकाप्रसाद कोइरालालाई विसं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो ।


यसपछि नै उनको राजनीतिक जीवनको सुरुवात भएको थियो । भारतीय राजनीति र समाजमा पनि समाजमा पनि उहाँको गाढा प्रभाव थियो । भारत प्रवासमा रहेकै बेला भारतको परिवर्तन देखेर उनले नेपालमा पनि परिवर्तन ल्याउने प्रयास गरेका थिए । विसं २००३ मा उनले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए भने २००६ सालमा उनकै पहलमा नेपाली कांग्रेस पार्टी बनेको थियो ।
विसं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको थियो जसलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ । २००७ सालमा उहाँले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गरेका थिए । सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । तात्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो ।

व्यापक अध्ययन, चिन्तन तथा ठोस विश्लेषण व्यवहारमा उदारता तथा निर्णयमा अडान कर्तव्यको पुकारमा ज्यानको बाजी लगाएर भएपनि संघर्षमा होमिने आँट, मानवीय जीवनका साथै जनताका भावना र आवश्यकता बारे तीक्ष्ण तथा सुक्ष्म दृष्टिकोण बनाउन सक्ने कला, दार्शनिक पक्षमा गहिरो ज्ञान, संघर्षले दिएको अनुभवबाट बनेको दुर्धर्ष आत्मबल, अपरिग्रहयुक्त जीवनशैली आदि उनको व्यक्तित्वका ज्वलन्त विशेषता थिए ।
उनले दक्षिण एसियाको अवस्थितिमा नेपालकोअस्तित्व, पार्टी र जनताका बीच कार्यकर्ताको भूमिका, जातीय विविधता भएको समाजमा राजनीतिक नेताको भूमिका, मुलुक गरिब तथा शोषित जनसमुदाय भएको अवस्थामा राष्ट्र नै लाभान्वित हुने खालको आर्थिक विकासका लागि राजनीतिक दल र नेताहरुले निर्वाह गर्नुपर्ने भूमिका जस्ता विषयमा उनले कार्यकर्ताहरुलाई निरन्तर प्रशिक्षित गरिरहेका थिए । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसका आधारभूत सिद्धान्तका रुपमा स्थापित गराउने सर्वोच्च सिद्धान्तकार नेता उनी नै थिए ।

सत्तामा उनी
२००७ सालमा आठ महिना गृहमन्त्री र २०१६ सालमा साढे एक वर्ष प्रधानमन्त्री भएका थिए । उनले बाँकी सम्पूर्ण जीवन लोकतन्त्र प्राप्तिको संघर्षमै लगाएका थिए । त्यसक्रममा उनले राणाशाही बिरुद्ध जेलभित्रैबाट आमरण अनशन गरेका थिए । विसं २००७ सालको जनक्रान्ति, २०२५ सालपछि २०३३ सालसम्म सशस्त्र आन्दोलनको पनि उनले नेतृत्व गरेका थिए । विसं २०१४ सालको भद्रअवज्ञा आन्दोलन वा २०३६ सालको विद्रोह तथा तत्कालीन राजालाई जनमत संग्रहको घोषणा गर्नुपर्ने परिस्थितिमा पु¥याउने राजनीतिक कार्यमा उनको ऐतिहासिक योगदान छ । उनी यथास्थितिवादी राजनीतिका एक नेता भएर होइन, राजनीतिको गतिलाई मोड्न सक्ने उहाँलाई तार्किक टुंगो दिनसक्ने र हर राजनीतिक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहार कुशलता भएका अन्तराष्ट्रिय स्तरको राजनेताका रुपमा सुपरिचित नेता थिए ।

विसं २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलाप तथा एकताको सन्देश बोकेर बिपी , गणेशमान सिंह, शैलजा आचार्यलगायत नेपाली कांग्रेसको एउटा ठूलै समूह आठ वर्ष लामो निर्वासित जीवन त्यागेर पटनाबाट काठमाडौँ आए । त्यसबेला बिपी र गणेशमाजी माथि आठवटा संगीन आरोपसहितका मुद्धा लगाइएको थियो । मुलुकभरि पञ्चहरुबट उनीहरुलाई फाँसीको सजायको माग राख्दै बक्तत्व प्रकाशित, विन्तीपत्र टक्र्याउने, प्रस्ताव पारित गर्नेजस्ता गतिविधि अनवरत भइरहे । त्यसकारण कांग्रेसका नेताहरुलाई मार्नु पञ्चायती शासकको चरित्र नै थियो ।
पञ्चायती शासनको मुख्याती प्रजातन्त्रको शिविरमा यस कारणले पनि थियो कि त्यसबेला नेपाली कांग्रेसका लोकप्रिय, होनहार तथा प्रभावशाली नेताहरुलाई छानीछानी मार्ने षडयन्त्र बारम्बार भइरह्यो । यसमा योगेन्द्रमान शेरचन, सरोज कोइराला। दिवानसिंह राई, तेजबहादुर अमात्य आदि परेका थिए ।
सिक्किमबाट नेपाल आई झापामा वसोवास गर्दै रहेका एक युवालाई तत्कलीन अञ्चलाधीशले रिभोल्भर दिएर निर्वासनमा रहेका बिपीको हत्या गर्न वनारस पठाएको थियो । तर त्यो षडयन्त्रको पर्दाफास भएपछि भारतीय सुरक्षाकर्मीले नै पक्राउन गरेको उक्त युवालाई बिपीले नै क्षमा दिएर रिहा गर्न आग्रह गरेका थिए । रिहा भएपछि त्यो युवा पत्रकारितातिर लागेको थियो ।
विसं २०३६ मा जनमत संग्रहको सिलसिलामा स्याङ्जा पुग्नुभएका बीपीलाई मार्ने असफल प्रयास भएको थियो । उहाँलाई हानिएको गोली स्याङ्जाकै कांग्रेस कार्यकर्ता तारापति कोइरालाले छेकेर बिपीलाई बचाएका थिए । बिपीलाई हानिएको गोली तारापतिजीको घुँडामा लागेको थियो । हत्याको प्रयास र फँसीको मागका बीच बिपीले आफूमाथि लागेका सबै मुद्धालाई डटेर सामना गरेका थिए । यस क्रममा उनले अदालतमा दिएको सात घण्टा लामो बयान आज पनि विद्वत समुदायमा चासो र खोजीको विषय भइरहेको छ । त्यसलाई अदालती वयानको अनुभव उदाहरण मानिन्छ । उनको स्वदेश आगमनले मुलुकमा यति ठूलो उत्साह र प्रभाव सञ्चार ग¥यो कि निर्विकल्प, माटो सुहाउँदो आदि विशेष दिइएको पञ्चायतलाई साढे दुई वर्षभित्रैमा बहुदलको पक्षबाट जनअदालत (जनमत संग्रह) को कठघरामा उभ्याउनु भयो ।

राजनीतिमा बिपी कोइरालाका रुपमा संक्षिप्त नामले चिनिने उनी साहित्यमा पूरा नाम विश्वेश्वरप्रसाद कोइरालाबाट लोकप्रिय थिए । आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भन्ने बिपी मनोवैज्ञानिक साहित्य लेखनमा विश्वस्तरीय रचनाकार थिए । उनले उपन्यास, कथा, निबन्धका करिब एक दर्जन कृति लेखेका छन् । साथै, आत्मवृत्तान्त, जेल जर्नल, फुटकर लेख रचनाहरुको संगालो आदि पुस्तकहरु पनि प्रकाशित भएका छन् । नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए । राजनीतिक आग्रह वा त्यसका छायाँ र प्रभाव उनले साहित्यमा कहिले पनि प्रवेश हुन दिएनन ।
उनको जन्म भारतको बनारसमा १९७१ भदौ २४ गते भएको थियो थियो । न्वारानको नाम चूडामणि भएपनि विश्वनाथ मन्दिरको तीर्थस्थलमा जन्म भएको हुनाले उनको नाम विश्वेश्वरप्रसाद राखियो । एउटै पिताका तीन छोराहरु मातृकाप्रसाद, विश्वश्वरप्रसाद र गिरिजाप्रसाद प्रधानमन्त्री भएको विशेष उदाहरणीय परिवारमा बन्यो । घाँटीमा आएको क्यान्सरका कारण आवाज आउन छाडेको थियो । सासले मात्र बोल्ने आफ्नो मृत्यु टाढा छैन भन्ने यकिन भएपछि उनले भाइ गिरिजाबाबुलाई एकदिन भन्नुभएछ, “अब म उपचार गरेर बाँच्ने होइन । म स्वदेशमै मर्न चाहन्छु । यहाँबाट(बैंकक) मलाई नेपाल लगिहाल ।”

उनकै आग्रहमा २०३९ साउन ६ गते भेन्टिलेटरमा अक्सिजनसहित बेहोस अवस्थामा साँझ ६ बजे काठमाडौँ ल्याइपु¥यायो तर त्यसको एक घण्टा पनि नबित्दै उनको निधन भयो । भोलिपल्ट साउन ७ गते उनको अन्त्यष्टि विशाल जन समुदायको उपस्थितिमा भएको थियो । प्रजातन्त्रको पुर्नस्थापना भएपछि उहाँका नाममा धरानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुरमा क्यान्सर अस्पताल, काठमाडौँका आँखा अस्पताल, बनेपा–सिन्धुली–बर्दिवास राजमार्गको नामकरण गरिएको छ ।
भारतको पटनामा उहाँको पूर्णकदको शालिक र एउटा सडकको नाम बिपीमार्ग राखिएको छ । आज हामीबीच उहाँ हुनुहुन्न तर उहाँले देखाउनु भएको राजनीतिक दर्शन र सिद्धान्त नयाँ पुस्ताका लागि मार्गदर्शन बनेको छ ।
(लेखक नेपाली कांग्रेसका नेता हुन्)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर